काठमाडौं- सरकारले देशभर अक्सिजन कन्सनट्रेटर बैंक स्थापना गर्ने भएको छ। यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन कन्सनट्रेटर बैंक स्थापना तथा सञ्चालन कार्यविधि तयार गरेको छ।
अक्सिजन अभावको संकटलाई सहज बनाउन अक्सिजन कन्सनट्रेटर बैंक स्थापना गर्न लागिएको हो।
कार्यविधिअनुसार संघ, प्रदेश र जिल्लामा अक्सिजन कन्सनट्रेटर स्थापना गरिनेछ। संघमा एउटा, सबै प्रदेशमा एक/एकवटा र हरेक जिल्लामा एक÷एकवटा गरी ८५ स्थानमा अक्सिजन कन्सनट्रेटर बैंक स्थापना हुनेछन्।
संघमा स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखामा, प्रदेशमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा र जिल्लामा हरेक स्वास्थ्य कार्यालयको स्टोरमा अक्सिजन कन्सनट्रेटर बैंकको स्थापना हुने जनाइएको छ।
अक्सिजन कन्सनट्रेटरको माग, आपूर्ति, संकलन, वितरण तथा व्यवस्थापन गर्न स्थापना गरिएको स्टोरलाई अक्सिजन कन्सनट्रेटर बैंक भनेर बुझ्नुपर्ने कुरा कार्यविधिमा उल्लेख छ।