काठमाडौं– शनिबार काठमाडौं उपत्यकाको आकाश खुलेको थिएन। अपराह्नसम्मै खुलेको थिएन आकाश। निषेध आदेश पूर्ण रुपमा खुलिनसकेको, सार्वजनिक विदाको दिन र त्यसमाथि झरीका कारण मानिसहरुको आवतजावत निकै कम थियो।
दिउँसोतिर प्रहरी वृत्त जनसेवामा एउटा खबर आयो– न्युरोडमा कसैले बालिकामाथि जबर्जस्ती गरिरहेको छ। घटना स्थानीयले देखेका रहेछन्। एक व्यक्तिले पार्किङ गरेर राखेको गाडीको आडमा बालिकालाई बलात्कार गर्न खोजेको देखेपछि स्थानीयले हारगुहार गरी प्रहरीलाई खबर गरेका थिए।
जनसेवा प्रहरी तत्काल मुभ भयो। मध्य दिउँसो आठ वर्षीया बालिकालाई बलात्कार गर्न खोज्ने सूर्य तामाङ समातिए।
धादिङको धुनीबेसी नगरपालिका–१ घर भएका तामाङ पेशाले रिक्सा चालक हुन्। उनी न्युरोड, ठमेल, वसन्तपुर क्षेत्रमा रिक्सा चलाएर गुजारा गर्छन्।
मदिरा र लागु पदार्थको नशामा झुमिरहने तामाङको बानीबारे प्रहरी जानकार थियो। नशाकै सुरमा उनले बालिकालाई बलात्कारको प्रयास गरेका थिए। प्रहरी वृत्त जनसेवाका प्रमुख डीएसपी दिलबहादुर बमले भने, ‘बलात्कार गर्न खोजिरहेको अवस्थामा हामीले उसलाई नियन्त्रणमा लिएका हौं। रिक्सा चालकले यस्तो गर्ला भन्ने कसैले सोेचेकै थिएन, त्यो पनि दिउँसै। तत्काल खबर पाउनाले बालिकालाई बचाउन सफल भयौं।’
३५ वर्षीय तामाङले रिक्सा चलाउन थालेको लामै समय भइसकेको मल्लले बताए। ‘नशामा झुमिरहने भए पनि यस्तो गर्ला भन्ने सोचेका थिएनौं,’ डीएसपी मल्लले भने। उनका अनुसार बालिकामाथि जबर्जस्ती भइरहेको स्थानीयले आफ्नो घरको छतबाट देखेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानले बलात्कार आरोपी तामाङले नशामा लट्ठ भएर बालिकामाथि जबर्जस्ती गरेको देखिएको छ।
‘नशामा रहेका तामाङले वरिपरि कोेही नदेखेर जबरजस्ती गर्ने प्रयास गरेका थिए। तर समयमै स्थानीयले देखेकाले बालिका बचिन्,’ डीएसपी मल्लले भने। नशा सेवन गर्ने रिक्सा चालक बालिकामाथि झम्टेको देखेपछि छतबाट केही स्थानीयले देखेर होेहल्ला गरी प्रहरीलाई खबर गरेका थिए।
बालिका न्युरोेडमै डेरा गरी बस्ने रहेको प्रहरीले बताएको छ। प्रहरीले तामाङलाई आइतबार अदालतमा पेश गरी अनुसन्धानका लागि म्याद लिइसकेको छ। ‘तामाङलाई बलात्कार मुद्दा लगाई अदालतबाट म्याद थप गरिसकेका छौं। घटनाबारे विस्तृत अध्ययन गरिरहेका छौं,’ जनसेवा वृत्त प्रमुख मल्लले भने। बालिका भने आफ्नै डेरामा सुरक्षित रहेको प्रहरीले जनाएको छ।
यही असार ५ गते काठमाडौंको दक्षिणकालीमा बलात्कार प्रयासको प्रतिकार गर्दा सन्तोषी सुब्बाको हत्या भएकोे थियो। अभियुक्त सुरेश तिमल्सिनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। सुरेशले मदिरा सेवन गरी जबर्जस्ती करणीको प्रयास गरेका थिए। सन्तोषीले नमान्दा उनले सन्तोेषीकै सलले घाँटी बेरेर ढुंगाले हानी हत्या गरेको प्रहरीले बताएको छ।