काठमाडौं– राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित सि.सं. २६ गुल्मपति तथा स्टाफ (सीसीएससी) तालिम आइतबार सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित उक्त तालिम समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सर्वोत्कृष्ट सशस्त्र प्रहरी निरीक्षक कृष्णकुमार बस्नेत लगायतलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे।
महानिरीक्षक खनालले उक्त तालिम सफलतापूर्वक उत्कृष्ट ढंगबाट सम्पन्न गराउन विशेष भूमिका निर्वाह गरेकोमा सो तालिमका प्रशिक्षकहरुलाई समेत त्यसैअवसरमा प्रशंसापत्र प्रदान गरे। उनले राज्य प्रदत्त जिम्मेवारीका क्षेत्रमा पूर्ण व्यावसायिक भई जिम्मेवारी निर्वाह गर्न सक्ने अनुशासित, कर्तव्यनिष्ठ, नैतिवान, दक्ष र कुशल नेतृत्व क्षमतायुक्त अधिकृत उत्पादनका लागि संगठनले विभिन्न किसिमका यस्ता व्यावसायिक तालिम सञ्चालन गर्दै आइरहेको बताए।
१२ हप्ता अवधिको सीसीएससी तालिम २७ जना सशस्त्र प्रहरी निरीक्षकले सफलतापूर्वक सम्पन्न गरेका छन्। तालिममा शोधपत्रतर्फ सशस्त्र प्रहरी निरीक्षक रञ्जन बस्नेत उत्कृष्ट ठहरिएका छन्। उक्त तालिममा स्टाफ ड्युटिज, युद्धकला, नेतृत्वकला, फौजको व्यवस्थापन, ट्याक्टिस, इन्टेलिजेन्स, अपराध नियन्त्रण, मानवअधिकार लगायतका विविध विषयहरुमा सम्बन्धित विषयका विषयविज्ञबाट प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसी, प्रतिष्ठानका कार्यकारी निर्देशक लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिति थियो।