काठमाडौं– जुन २८ तारिख विश्वभरका एलजीबीटीक्यू (फरक लैंगिक अवस्था भएका) समुदायको विशेष दिन हो। अर्थात् क्रिस्टोफर स्ट्रिट लिबरेसन डे (सीडीएस)। युरोपका एलजीबीटीक्यू समुदायको यो विशेष वार्षिकोत्सव पनि हो। एलजीबीटीक्यू समुदायमाथिको अपहेलना, समाजबाट वहिष्करणविरुद्धको प्रदर्शन पनि हो। यसलाई जर्मनी र स्विट्जरल्यान्डमा ‘गे परेड’ भनेर चिनिन्छ भने अष्ट्रियामा ‘रेन्बो परेड’का नामले प्रचलित छ।
यो दिन पुलिस आक्रमणविरुद्ध एलजीबीटीक्यू व्यक्तिहरुको ठूलो विद्रोहको दिन हो। यो विद्रो १९६९ जुन २८ मा स्टोनवेल रायट्सले अमेरिकाको स्टोनवेल वारबाट सुरु गरेका थिए।
त्यसको एक वर्षपछि त्यही दिनको सम्झनामा अमेरिकाको सान फ्रान्सिस्को र सिकागोमा प्रदर्शन भएको थियो। र, एक दिनपछि २८ जुन १९७० मा क्रिस्टोफर स्ट्रिट लिवरेसनका रुपमा अमेरिकाको न्युयोर्कबाट सुरु भयो यो प्रदर्शन। १९९३ यता यसको सबैभन्दा ठूलो परेड बर्लिन सहरमा हुन्छ।
एलजीबीटीक्यू समुदायले आफ्नो प्रतिनिधित्व र प्रदर्शकका लागि इन्द्रेणी झण्डा (इन्द्रेणीमा भएका नीरबाहेकको ६ रंग) प्रयोग गर्ने गरेको छ। त्यसको समर्थन गर्ने मानिसले पनि यो झण्डा प्रयोग गर्ने गर्छन्। यसका ६ रंगले एलजीबीटी समुदायको विविधताको प्रतिनिधित्व गर्छ।
त्यसो त अमेरिकाको सान फ्रान्सिस्कोमा यो झण्डालाई गे समुदायको प्रतीकका रुपमा मानिन्थ्यो। तर अहिले एलजीबीटीको आन्दोलनमा यो झण्डा प्रयोग गरिन्छ। त्यसैले यसको नाम ‘एलजीबीटी प्राइड फ्ल्याग’ राखिएको छ।
पछिल्लो समय यो मुद्दा युरोपियन फुबटलको सर्वोच्च निकाय यूईएफएसम्म पुगेको छ। खासगरी हंगेरीको बुडापेस्ट र जर्मनीको म्युनिखमा भएको खेलमा समर्थकको हाउभाउलाई दिएर यो विषयले चर्चा पाएको हो।
यही रंग र झन्डाको प्रयोग सवालमा जर्मनीको म्युनिखमा सम्पन्न हंगेरी र जर्मनीबीचको खेलमा यूईएफए र स्थानीय आयोजकबीच मनुटावको स्थिति पैदा भएको थियो।
फुटबललाई सबै समुदाय, वर्ग, क्षेत्र, भाषा र लिंगबीच पुर्याउने उद्देश्य रोखेको फिफाले एलजीबीटीक्यूको मुद्दालाई पनि ध्यानमा राख्ने गरेको छ। त्यसैले यो विषयमा युईएफएले चासो दिएको हो।
भएको के थियो भने,जुन २८ को सन्दर्भ गएको सोमबार जर्मन फुटबल संघ (डीएफबी) ले एलजीबीटीक्यू समुदायलाई फुटबलबाट समर्थन गर्न चाहन्थ्यो। यसकारण उसले यो कुरा स्थानीय नगरसँग राख्यो।
नगरका मेयर डिटर रिइटरले जुन २८ नै किन यो कुरा त अन्य अवसरमा पनि गर्न सकिन्छ भन्ने कुरा गरेका थिए। त्यसैले जर्मन एफए र म्युनिख सहरले यूईएफएलाई हंगेरी र जर्मनको खेलका क्रममा सप्तरंगी बत्ती बाल्ने अनुमति मागेको थियो।
तर यूईएफएले त्यसबारे अनुमति दिन अस्वीकार गर्यो। यूईएफएकै शब्दमा उसले अनुमति दिन अस्विकार गर्नुपर्ने कारण केही थिएन। उसले त यूईएफएले फुबटलका माध्यमबाट विविधता र समावेशीकरणलाई मान्यता दिँदै आएको पो थियो।
तर, जर्मनको त्यो विषयमा राजनीति घुसेको भन्दै उसले सात रंगको बत्ती बाल्ने अनुमति दिएन। जारी युरोकप २०२० को समयमा बुधबार हंगेरीविरुद्धको जर्मनीको खेलका लागि प्रयोग गर्ने बताइएको इन्द्रेणी रंगको बत्ती बाल्न यूईएफएले रोक लगाइदियो।
यूईएफएको गभर्निङ बडीले भनेको थियो, ‘विविधता र समावेशीकरणबारे सन्देश दिने आयोजकको मनसाय यूईएफएले बुझेको छ। यो कुरालाई यूईएफएले पनि धेरै वर्षदेखि सहयोग गर्दै आएको छ। फुटबलका सबैका लागि खुल्ला गर्न र यसको संस्कृतिको विकासका लागि यूईएफएले पनि विविधताका लागि काम गरेको छ।’
‘रंगभेद, होमोफोविया, यौनिक विभेदलगायकत सबै प्रकारका विभेदले समाजमा समस्या सिर्जना गरेको छ। विभेदका कारण धेरै खेल प्रभावित बनेका छन्,’ यूईएफएको गभर्निङ बडीले लेखेको छ।
यता म्युनिखका मेयर डिटर रिइटरले यूईएफएले अस्विकार गरिदिएपछि त्यसको विरोध गर्दै उनले त्यो निर्णयलाई लज्जास्पद भएको बताएका थिए। ‘यूईएफएले म्युनिखका एलजीबीटीक्यूको खुलापन, सहिष्णुता, सम्मान र एकताको लागि हाम्रो प्रस्ताव अस्विकार गर्नु लज्जास्पद विषय हो,’ स्टेटमेन्टमा मेयरले भनेका छन्।
तर जर्मनीका कप्तान एवं गोलकिपर म्यानुयल नुयरले हंगेरीविरुद्धको खेलमा इन्द्रेणी रंगको आर्मब्यान्ड भने लगाएका थिए। सो खेलमा समर्थकहरुले पनि इन्द्रेणी रंगको झन्डा खेलमा क्रममा प्रयोग गरेका थिए। यता यूईएफएले म्युनिखलाई हंगेरीविरुद्धको खेलको ठाउँमा जुन २८ को किस्टोफर स्ट्रिट लिवरेसन डेमा सप्तरंगी बत्ती बाल्न प्रस्ताव गरेको छ।
त्यसो भए यसबीचको विवाद को हो ?
हंगेरीको सत्तारुढ दल नेशनलिस्ट पार्टीले गएको १० जुनमा संसदमा एउटा कानुन पेश गर्यो। जसमा १८ वर्षमुनिका मानिसमा होमोसेक्सुआलिटी र लिंग परिवर्तनसम्बन्धी कुराहरुको पहुँच हुनबाट जोगाउने कुरा गरिएको थियो।
त्यसकारण एलजीबीटी साहित्यका शैक्षिक सामग्री, विज्ञापनहरु प्रतिबन्धित गर्ने प्रस्ताव गरिएको थियो। त्यो १६ जुनपछि त्यहाँको कानुन बन्यो। त्यसकारण हंगेरीको त्यो कानुनलाई अहिले विश्वव्यापी रुपमा विरोध गरिएको छ।
अझ एलजीबीटीसँग नजिक रहेर काम गरिरहेका मानिस र संस्थाले त्यसको धेरै विरोध गरेका छन्। कतिपय मानव अधिकारवादीले त त्यसलाई रसियाले एलजीबीटीमाथि लगाएको प्रतिबन्धसँग दाँजेर हेरेका छन्। जसको बुडापेस्ट प्राइडले विराध गर्दै त्यसको विरोध गर्न अन्तर्राष्ट्रिय समुदायलाई आमन्त्रण गरेको छ।
त्यसै सन्दर्भमा जर्मनका मेयरले त्यो कानुनको विरोध गर्न सबैलाई आह्वान गरेका थिए। यस विषयमा अहिले अन्तर्राष्ट्रिय स्तरमा बहस चलिरहेको र यो राजनीतिक मुद्दा भएको आरोप लगाउँदै यूईएफएले रंगशालामा बत्तीको प्रताव अस्विकार गरेको बताएको थियो।
तर, गएको बुधबारको खेलमा केही हंगेरियन समर्थकले एलजीबीटीको विरुद्धमा काम गरेको पाइएको छ। यो विश्वास गरिएको छ कि उक्त खेलमा एलजीबीटीको विरुद्धमा ब्यानरहरु प्रयोग गरिएको थियो।
साथै एलजीबीटीको विरुद्धमा पनि गीतहरु गइएको र स्लोगन पढिएको सुनिएको बारे यूईएफएले अध्ययन गरिरहेको छ। हंगेरीको बुडापेस्टमा (पोर्चुगल र हंगेरीको खेलमा) पनि समलिंगीविरुद्धका ब्यानरहरु प्रयोग भएको हुनसक्ने भन्दै यूईएफएले अध्ययन अघि बढाएको हो। जहाँ ६७ हजारभन्दा धेरै समर्थक उपस्थित थिए।
त्यस्तै, अघिल्लो हप्ताको शनिबार भएको फ्रान्सविरुद्धको खेलअघि पनि हंगेरीका समर्थकले घुँडा टेकेर रंगभेदको विरोध गर्न हुने ब्यानर बोकेका थिए। यता फ्रान्सका केही खेलाडी त्यो खेलमा रंगभेद गरिएको आरोप लगाएका थिए।
- बीबीसीमा प्रकाशित सामग्रीहरुमा आधारित