विराटनगर- मोरङको सुनबर्षीमा छोराले ६८ बर्षीय बाबुको हत्या गरेका छन्। सुनवर्षी –४ का ४० वर्षीय दयालु ताजपुरियाले ढुंगाले प्रहार गरेर ६८ वर्षीय बाबु टिनताल ताजपुरियाको हत्या गरेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्काले बताए।
मादक पदार्थ सेवन गरेको विषयलाई लिएर भएको घरायसी विवादमा शनिबार बिहान सुतिरहेको अवस्थामा छोराले बाबुलाई ढुङ्गाले हानेको खुलेको प्रहरी निरीक्षक खड्काले बताए। छोराले मापसे गरेर होहल्ला गरेपछि सम्झाउन खोज्दा उल्टै आक्रमण गरेको प्रहरीले बताएको छ।
ढुंगा प्रहारबाट गम्भीर घाइते भएका टिनताललाई उपचारका लागि कोशी अस्पताल विराटनगर ल्याइए पनि उपचार सम्भव नभएपछि भारतको सिलगुढी रेफर गरिएको थियो। आर्थिक अवस्था कमजोर भएका कारण सुविधा सम्पन्न अस्पताल नलगी घरमा ल्याइएको स्थानीय सञ्चारकर्मी वीरेन्द्र साहले बताए। ढुंगा प्रहारबाट घाइते भएका टिनतालको आइतबार बिहान साढे ५ बजे मृत्यु भएको प्रहरी निरीक्षक खड्काले बताए।
बाबुको हत्यामा संलग्न दयालुलाई खड्का नेतृत्वकै टोलीले आइतबार नियन्त्रणमा लिइसकेको छ। आरोपीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मञ्जील मुकारुङले बताए।