पर्सा– पर्साको छिपहरमाई गाउँपालिकाको अध्यक्षमा निर्वाचित मनोज गुप्ता पद त्यागेर एमालेमा प्रवेश गरेका छन्।
२०७४ सालको निर्वाचनमा २ हजार ८ सय ५१ मतले विजयी बनेका गुप्ता माओवादी परित्याग गरेर एमालेको सचिवका लागि पद परित्याग गरेका हुन्।
एमाले प्रदेश नं. २ को कमिटीका अध्यक्ष ज्वाला कुमारी साहले बिहीबार पाँच जिल्लाको अध्यक्ष तथा सचिव पदमा मनोनित गर्दा उनलाई जिल्ला सचिवको जिम्मेवारी तोकिएको छ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार कुनै जनप्रतिनिधिले पार्टी परित्याग गरे निर्वाचित पद गुम्ने व्यवस्था छ। उनले जनताले दिएको पद गुमे पनि जनताको सेवामा जुटिरहने प्रतिक्रिया दिएका छन्। ‘पद ठूलो कुरा होइन। पद नभए पनि जनताको सेवा गर्नबाट म पछि हट्दिनँ,’ उनले भने।