आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जग्गाधनी पुर्जा दिन कञ्चनपुरमा अव्यवस्थित बसोबासीको जग्गा नापजाँच गरिँदै

जग्गाधनी पुर्जा दिन कञ्चनपुरमा अव्यवस्थित बसोबासीको जग्गा नापजाँच गरिँदै

भूमिसम्बन्धी समस्या समाधान आयोगले यहाँ भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको जग्गा नाप जाँचको कार्य अगाडि बढाउने तयारी गरेको छ।
 |  आइतबार, असार १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार १३, २०७८

कञ्चनपुर- भूमिसम्बन्धी समस्या समाधान आयोगले यहाँ भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको जग्गा नाप जाँचको कार्य अगाडि बढाउने तयारी गरेको छ।

आयोगको जिल्लास्थित कार्यालयले जग्गा नाप जाँचका लागि कार्य अगाडि बढाउन लागेको हो। असार १४ गतेदेखि बेलडाँडी गाउँपालिका–३ बाट जीपीएस प्वाइन्ट राख्ने कार्यसँगै जग्गाको नाप जाँचको कार्य हुन लागेको भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष कमला बोहराले बताइन्।

उनका अनुसार जिल्ला आयोग गठन भएपश्चात् स्थानीय तहसँग भएको सम्झौताबमोजिम भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत लिने कार्य पूरा भएको छ। त्यसका लागि अधुरा कामको अनुसूची २ आयोगको जिल्लास्थित कार्यालयबाट, भूमिहीन दलित भूमिहीन सुकुम्वासीका लागि अनुसूची ३ र अव्यवस्थित बसोबासीका लागि अनुसूची ४ फाराम स्थानीय तहबाट भर्ने कार्य गरिएको छ। 

स्थानीय तहले लगत लिएका फारामलाई कम्प्युटरमा प्रबिष्ट गर्ने कार्यलाई द्रुत गतिमा अगाडि बढाएका छन्। लगत संकलनको रेकर्ड स्थानीय तहले जिल्ला आयोगको कार्यालयलाई पठाउने तयारी गरेका छन्।

हालसम्म आयोगले जग्गासम्बन्धीको ४० प्रतिशत कार्य पूरा गरेको छ। जग्गा नापजाँचको कार्यलाई अगाडि बढाउनका लागि आयोगको केन्द्रीय कार्यालयले ९ वटै स्थानीय तहमा दुई सर्भेक्षक र दुई अमिनलाई खटाएको छ। 

‘तीन महिनाअघि नै लगत लिने कार्य पूरा भएको भए पनि कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि गरिएको निषेध आदेशका कारण दुई महिना कार्य अगाडि बढ्न नसक्दा विलम्ब भयो’, आयोगका जिल्ला अध्यक्ष बोहराले भनिन्, ‘जीपीएस प्वाइन्ट राख्ने कार्यसँगै जग्गा नापजाँच गर्ने कार्यलाई अगाडि बढाउँदैछौँ, कार्यलाई छिटोछरितो रुपमा अगाडि बढाउनका लागि कार्य भइरहेको छ।’ 

साउनभित्रै अधुरा कामको अनुसूची २ फाराम आयोगको जिल्ला कार्यालयमार्फत् भरेका व्यक्तिमध्ये एक हजार जनालाई जग्गाधनी पुर्जा उपलब्ध गराउने योजना रहेको उनको भनाइ छ। 

श्रेस्ता कायम भएका, फिल्डबुक कायम भएका, जग्गाबापतको रकम बुझाएकालगायतका व्यक्तिलाई जग्गा धनीपुर्जा दिइने उनले बताइन्।

भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई एकपटकका लागि आवास प्रयोजनका लागि बढीमा ३४० वर्गमिटर ९१ कट्ठा वा १०।६५ आना० जमिन उपलब्ध गराइने छ। 

‘कृषि प्रयोजनका लागि भने तराई र भित्री मधेशमा बढीमा दुई हजार वर्गमिटर (करिब ६ कट्ठा) जमिन उपलब्ध गराउने व्यवस्था छ’, अध्यक्ष बोहराले भनिन्,  ‘भूमिहीन दलित र भूमिहीन सुकुम्वासीले जग्गाबापत कुनै दस्तुर भने लाग्दैन।’ 

अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउँदा आर्थिक अवस्था, बसोबासको स्थिति, जग्गाको प्रकृति, क्षेत्रफल, मूल्यांकन, आवाद कमोतको अवधि र अन्य जमिन भए/नभएका आधारमा तोकिएबमोजिम वर्गीकरणका आधारमा रकम तिर्नुपर्नेछ। भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई सम्भव भएसम्म बसोबास गरेकै ठाउँमा जमिन उपलब्ध गराउने अयोगको योजना छ।

कानुनले दिन नमिल्ने भनी उल्लेख गरेका केही ठाउँमा बसोबास गरेका भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई अन्यत्र स्थानान्तरण गरिनेछ। कानुनअनुसार दिन मिल्ने जग्गामा बसोबास गरेका अव्यवस्थित बसोबासीको हकमा सोही स्थानमा दिइनेछ। 

आयोगबाट उपलब्ध गराइएको जमिन अंशवन्डा र अपुतालीको अवस्थामा बाहेक अन्य कुनै प्रक्रियाबाट १० वर्षसम्म हक हस्तान्तरण गर्न पाइने छैन। जग्गा पाउनका लागि गलत विवरण पेस गर्नेलाई भने आयोगले एक लाख वा एक वर्ष कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्थासमेत गरेको छ।

यहाँ हालसम्म तीन हजार १५१ भूमिहीन दलित र भूमिहीन सुकुम्वासीले बसोबासका लागि फाराम भरेका छन्। यसैगरी ४९ हजार २४ अव्यवस्थित बसोबासी र आयोगको जिल्लास्थित कार्यालयबाट ६ हजार ४१७ जनाले जग्गाको अधुरो कार्यका लागि फारम भरेका छन्।

प्रकाशित: Jun 27, 2021| 01:25 आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।