आइतबार, भदौ ७, २०८३

झुट हुन सक्छन् कोभिड खोप उत्पादकका वाचा

हामीले गर्न नहुने एउटै काम हो– ठूला भ्याक्सिन निर्माता कम्पनीका वाचाहरुमा विश्वास। उनीहरु आफ्नै प्रयत्नले सकेसम्म छिटो महामारी अन्त्य गर्न लागिपर्नेछन् भन्नु सबैभन्दा ठूलो झुठ हो। 
 |  आइतबार, असार १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार १३, २०७८

कोभिड–१९ विरुद्धको भ्याक्सिनको माग संसारभर धेरै छ भन्नेमा सायद सबै सहमत छन्। हामीले यो लेख लेख्दैगर्दा केही देशले त एक डोज भ्याक्सिन पनि नागरिकलाई लगाइदिएका छैनन्। धेरै देशहरूले ठूलो मात्रामा खोप कार्यक्रम शुरु गर्न सन् २०२३ सम्म कुर्नुपर्ने हालैका अध्ययनहरूको आकलन छ। 

संसारभर भ्याक्सिनको अभाव किन भयो र भ्याक्सिन उत्पादन तथा वितरण बढाउन बाधा पुर्‍याइरहेका विषयलाई कसरी निराकरण के गर्ने भन्ने विषयमा बहस भइरहेको छ। बौद्धिक सम्पत्ति यो बहसको प्रस्थानबिन्दु बन्न पुगेको छ। 

कोभिड–१९ को भ्याक्सिन बनाइरहेका ठूला युरोपेली र अमेरिकी कम्पनीका अनुसार केही दर्जन धनी देशमा बाहेक अन्यत्र भइरहेको भ्याक्सिन अभाव अवश्यम्भावी र समाधानरहित छ। आफ्नो दलील पुष्टि गर्न ती कम्पनीले बारम्बार पेस गर्ने तथ्यहरु यस्ता छन्- कोभिड भ्याक्सिन बनाउन सक्ने कम्पनी उनीहरू मात्रै हुन् र उनीहरुले सक्दो छिटो धेरै मात्रामा उत्पादन गरिरहेछन्। मोडर्ना, फाइजर–बायोएनटेक, अस्ट्राजेनेका र ‘जोन्सन एन्ड जोन्सन’ जस्ता कम्पनीहरु धनी देशमा बस्ने बहुसंख्यक वयस्कलाई भ्याक्सिन उपलब्ध गराउन लागिपरेका छन्। कम्तीमा अर्को वर्षसम्ममा उनीहरूले न्यून र मध्य आय भएका देशहरूमा तुलनात्मक रुपमा निकै कम संख्यामा भ्याक्सिन बेच्नेछन्। 

ती कम्पनीहरुको दाबी छ- उनीहरु सकेजति धेरै भ्याक्सिन उत्पादन गरेर धेरै मानिससम्म पुर्‍याउने थिए तर विडम्बना उनीहरु त्यसो गर्न सक्दैनन्। अझ उनीहरु के पनि भन्छन् भने, ‘भ्याक्सिन उत्पादनको तरिका’ बौद्धिक सम्पत्ति वितरण गर्दा यसको उत्पादन दर अझै घट्नेछ। 

ती कम्पनीलाई आखिर केले भ्याक्सिनको उत्पादन बढाउन रोकेको छ त? उनीहरुले तेर्स्याउने कारण यस्ता छन्- गुणस्तर र भ्याक्सिन बनाउन आवश्यक सामग्रीको कमी, भ्याक्सिन भण्डारण गर्ने कोल्ड चेनको कमी, भ्याक्सिन उत्पादनका लागि आवश्यक इन्जिनियर र अन्य प्राविधिकहरुको कमी। 

संसारभर भ्याक्सिनको अभाव किन भयो र भ्याक्सिन उत्पादन तथा वितरण बढाउन बाधा पुर्‍याइरहेका विषयलाई कसरी निराकरण के गर्ने भन्ने विषयमा बहस भइरहेको छ। बौद्धिक सम्पत्ति यो बहसको प्रस्थानबिन्दु बन्न पुगेको छ। 

‘भ्याक्सिनको अभावको कारण बौद्धिक सम्पत्ति नभई यसको उत्पादन र वितरणको चुनौती हो,' कोभिड भ्याक्सिन बनाइरहेको एक ठूलो कम्पनी मोडर्नाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मिसेल म्याकम्युरी–हेथले लेखेका छन्, ‘संसारमा एमआरएनए उत्पादन गर्ने क्षमता छैन।’ अर्थात् मोडर्ना र फाइजर–बायोएनटेकले जुन गतिमा भ्याक्सिन उत्पादन गरिरहेछन् त्यसभन्दा छिटो एम-आरएनएमा आधारित कोभिड भ्याक्सिन बनाउने अर्को उपाय नै छैन।  

हामी भने ठूला कम्पनीका यस्ता तर्कमाथि शंका गर्छौं। विश्वव्यापी भ्याक्सिन अभाव अवश्यम्भावी होइन। कम्तीमा पनि यसको उत्पादन, भण्डारण र वितरण गर्ने क्षमता नभएकाले यो अभाव भएको होइन। थुप्रै स्वतन्त्र विज्ञहरुले भ्याक्सिनको वितरण प्रणालीको अध्ययन गरेका छन् र संसारैभरीका औषधि कम्पनीका अधिकारीहरुसँग अन्तर्वार्ता गरेका छन्। ती अध्ययनबाट उनीहरू थप भ्याक्सिन उत्पादन प्रक्रिया तुरुन्तै थाल्न सकिने निष्कर्षमा पुगेका छन्। 

भोलि नै नभए पनि महिना दिनमा त्यस्तो उत्पादन शुरु गर्न सकिने उनीहरुको ठम्याइ छ। यी आकलनले मोडेर्ना र अन्य ठूला उत्पादकहरुले दाबी गरेको १८ महिना वा बढी समयभन्दा निकै छिटो भ्याक्सिन धेरै देशमा पुग्ने बताएका छन्। पछिल्ला केही हप्तामा इजरायल, क्यानडा, बंगलादेश, दक्षिण अफ्रिका र डेनमार्कका औषधि कम्पनीहरूले केही महिनाभित्रमै आफूले भ्याक्सिन उत्पादन थाल्न सक्ने बताएका छन्। तर त्यसका लागि अहिले उत्पादन गरिरहेका कम्पनी (र तिनको रेखदेख गर्ने सरकारहरु)ले स्रोत र ज्ञान बाँड्नुका साथै नयाँ उत्पादकहरुलाई भ्याक्सिन बेच्न कानुनी मार्गप्रशस्त गर्नुपर्नेछ। 

हुन त नाफा कमाउनकै लागि पनि भ्याक्सिन उत्पादकले त ‘आफ्नो उत्पादन बढाउन सक्षम साझेदार खोज्नुपर्ने होइन र? सबै भ्याक्सिन उत्पादकले सकेजति धेरै उत्पादन बढाउने प्रयास गर्नुपर्ने होइन र? हाम्रो दृष्टिकोणमा, त्यस्तो नहुनुका कम्तीमा दुई कारण छन्। 

फाइजरले निकट भविष्यमै भ्याक्सिनको ‘महामारीका कारण तोकिएको न्यून मूल्य’ करिब २० डलर प्रतिडोजबाट बढाएर सामान्य मूल्य तय गर्ने समेत बताएको छ। 

पहिलो, पक्कै पनि यी कम्पनीले जति धेरै भ्याक्सिन उत्पादन गर्‍यो त्यति आम्दानी गर्ने हुन् र प्रतिस्पर्धीसँगै साझेदारीमा उत्पादन बढाउँदा उनीहरुले झन् धेरै भ्याक्सिन बेच्न सक्नेछन्। (उदाहरणका लागि, मोडेर्ना र जोन्सन एन्ड जोन्सनले बडो सावधानीपूर्वक अन्य कम्पनीबाट पनि उत्पादन गराइरहेका छन्।) तर यस्तो साझेदारीले ‘व्यापारमन्दी’ गराउनेछ। त्यसरी उत्पादन गर्दा विभिन्न सामग्री र ज्ञान दिनुपर्नेछ जस्तै, भ्याक्सिनमा प्रयोग हुने सामग्री, उत्पादनको पूर्ण विवरण आदि। हुन त प्याटेन्ट लिएकाहरूले सावधानीपूर्वक यी गोपनीयता प्रदान गर्छन्। त्यो ज्ञान आफ्नो मुठ्ठीमै राख्न उनीहरुले ज्ञान सार्वजनिक नगर्ने समझदारी र अन्य सम्झौताहरू गरेका हुन्छन्। यति हुँदाहुँदै पनि केही ज्ञान भने प्रतिस्पर्धीसँग चुहिन्छ नै। प्याटेन्ट अधिकार लिएकाहरुले कोभिड–१९को पहिलो भ्याक्सिन उत्पादक हुनुका फाइदा सुरक्षित राख्न चाहन्छन् र अन्य रोगहरुको मामिलामा पनि त्यो सुविधा कायम राख्न चाहन्छन्। त्यसैले उनीहरु त्यो गोपनीयता जसरी पनि कायम राख्न चाहन्छन् (बरु बृहत् उत्पादनबाट आउने नाफा त्यागिदिन्छन्)। यसै पनि मोडर्ना र बायोएनटेक कम्पनीले हालै क्यान्सर, इन्फ्लुएन्जा, एचआइभी र अन्य रोगको उपचार र भ्याक्सिन विकास गर्न एमआरएनए प्रविधि प्रयोग गरिरहेको बताएका छन्। उनीहरु त्यसमा सफल भए भने त्यो निकै ठूलो लाभको स्रोत हुनेछ।

‘फाइनान्सियल टाइम्स’ले अप्रिलमा प्रकाशन गरे अनुसार केही कम्पनीले ‘अमेरिकी व्यापार क्षेत्रका र राष्ट्रपति कार्यालयका अधिकारीहरुसँगको व्यक्तिगत बैठकमा यस्तो चेतावनी दिएका छन्- कोभिड–१९ भ्याक्सिनको बौद्धिक सम्पत्ति वितरण गरे चीन र रुसले एमआरएन माध्यम दोहन गर्न पाउने छन्, जुन माध्यम भविष्यमा क्यान्सर र हृदयरोग उपचारका लागि भ्याक्सिन वा औषधि विकासको वाहक हुन सक्नेछ।’

दोस्रो, अधिकारप्राप्त भ्याक्सिन उत्पादकहरुले आर्थिक स्वार्थकै कारणले संसारैभर आवश्यक भ्याक्सिन उत्पादन नगरेको हुनसक्छ। यो तर्क अलि अमिल्दो सुनिन सक्छ तर कुरा नचपाई भन्ने हो भने यस्ता व्यवसायीका लागि व्यापार बढाइरहन महामारी रोकिनुभन्दा बढिरहनु हितकारी हुन्छ। यो विश्लेषण कुनै षड्यन्त्र सिद्धान्त होइन। यी कम्पनीहरू ठूलो मात्रामा आफ्नो नाफा सुनिश्चित गर्न चाहन्छन्। फाइजरका सीएफओले केही महिना अघि कोभिड दोहोरिरहनुमा कम्पनीको ‘महत्वपूर्ण अवसर’ रहेको उल्लेख गरेका थिए। यस्तो भयो भने कम्पनीले कोभिड–१९ भ्याक्सिन उत्पादन लामो समयसम्म गर्न पाउने उनको ठम्याई थियो। जनस्वास्थ्यको कोणबाट हेर्दा भाइरसका विभिन्न भेरियन्टहरु निकै नै विध्वंसकारी छन्। यिनले हाम्रो प्रतिरक्षा प्रणाली नै ध्वस्त पार्न सक्छन्। 

सकेजति धेरै भ्याक्सिन उत्पादन गरेर विश्वभर वितरण गर्छौं भनेर मोडेर्ना, फाइजर–बायोएनटेक र अस्ट्राजेनेकाले भन्दै गर्दा त्यो झुठ हो भनेर प्रमाणित गर्न हामीसँग कुनै प्रमाण छैन। तर हामीले यस्ता दावी यसअघि धेरैपटक सुनेका छौं।

वाल स्ट्रिटका विश्लेषको प्रश्नको जवाफ दिँदै फाइजरका सीएफओले ‘कोरोनाको नयाँ नयाँ भेरियन्ट’सँग जुध्न ‘हरेक वर्ष भ्याक्सिन लगाउनुपर्ने’ बताएका थिए। फाइजरले निकट भविष्यमै भ्याक्सिनको ‘महामारीका कारण तोकिएको न्यून मूल्य’ करिब २० डलर प्रतिडोजबाट बढाएर सामान्य मूल्य तय गर्ने समेत बताएको छ। त्यो मूल्य करिब १७५ डलर प्रति डोज हुनेछ। अर्को भ्याक्सिन उत्पादक कम्पनी मोडर्नाका सीइओले पनि त्यस्तै धारणा व्यक्त गरेका थिए। 

फाइजर मुख्यालय, न्युयोर्क। तस्बिर : एपी

शुरुवाती भ्याक्सिन उत्पादकहरू स्वीकार गरेअनुसार धनी देशहरुमा भ्याक्सिनको लाभदायक मात्राको माग भाइरसका नयाँ भेरियन्ट के–कति हुनेछन् भन्नेमा निर्भर गर्नेछ। र, ती भेरियन्ट भाइरस प्रवाह हुने अवसर पाए मात्रै सिर्जना हुनेछ। यो साधारण तथ्यले ती भ्याक्सिन निर्मातालाई ठूलो संख्याका मानिसलाई भ्याक्सिन नपुर्‍याउन बल दिन्छ। (अथवा भ्याक्सिनको एक डोज मात्र उपलब्ध गराएर संक्रमणको जोखिममा राखिरहन आड दिन्छ।) भ्याक्सिनबाट वार्षिक रुपमा आकर्षक नाफा कमाउने फाइजर र मोडर्नाको आकलन वास्तवमा खोप नलगाएका जनता कोभिडबाट संक्रमण भइरहने प्रक्रियाको निरन्तरतामा अडिएको छ। 

के साँच्चै कुनै औषधि कम्पनीले यतिसम्म गर्छन् त? सकेजति धेरै उत्पादन गरेर वा उत्पादन गर्ने ज्ञान र अधिकार बाँडेर धेरै मानिसलाई मर्नबाट जोगाउनको साटो मृत्युको जोखिममा पुर्‍याउँछन् त? 

एउटा तथ्यले वास्तविकता बताउँछ। ‘हेपाटाइटिस सी’को सुस्त गतिको महामारीको बीचमा एक बहुराष्ट्रिय औषधि निर्माता कम्पनी ‘गिलियड’ले ‘आफ्नो औषधि उत्पादन र बिक्रीको मुख्य ध्येय सकेजति धेरै हेपाटाइटिसका बिरामीलाई उपचार गर्नु रहेको’ दाबी गरेको थियो। तर सिनेटको अध्ययनको निचोड अर्कै थियो– ‘वास्तवमा गिलियडको बजार रणनीति सकेजति धेरै नाफा कमाउनेमा केन्द्रित छ। कम्पनीकै विश्लेषणले थोरै मूल्य राख्दा धेरै मानिसले उपचार पाउने देखाउँदा-देखाउँदै पनि यो कम्पनी नाफा कमाउनेमै केन्द्रित छ।’

सकेजति धेरै भ्याक्सिन उत्पादन गरेर विश्वभर वितरण गर्छौं भनेर मोडेर्ना, फाइजर–बायोएनटेक र अस्ट्राजेनेकाले भन्दै गर्दा त्यो झुठ हो भनेर प्रमाणित गर्न हामीसँग कुनै प्रमाण छैन। तर हामीले यस्ता दावी यसअघि धेरैपटक सुनेका छौं। र हरेकपटक उनीहरू गलत साबित भएका छन्। 

अमेरिका र युरोपका एचआइभीको औषधि निर्माताहरूले सन् १९९० र २००० को दशकमा बारम्बार अरु देशमा यस्ता औषधि उत्पादन गर्ने प्रविधि नभएको दाबी गरेका थिए। तर वास्तविकता अर्कै पुष्टि भयो। भारतलगायतका देशहरुमा ठूलो मात्रामा गुणस्तरीय औषधि उत्पादन भयो। उनीहरुले शुरुवाती निर्माताले भन्दा निकै प्रभावकारी ढंगमा औषधिको उत्पादन र वितरण गरे। 

अहिलेकै कुरा गरौं। यो महामारीको शुरुतिर अमेरिकामा कोभिडको उपचार गर्ने औषधि ‘रेम्डिसिभिर’को अभाव भयो। यो औषधिको प्याटेन्ट पाएको कम्पनी गिलियडले सकेजति धेरै ‘रेम्डिसिभिर’ उत्पादन गरिरहेको दाबी गर्‍यो। औषधि निर्माण गर्ने लाइसेन्स अन्य कम्पनीलाई वितरण गर्न आग्रह गरिँदा गिलियडले त्यसरी लाइसेन्स वितरण गर्नु जोखिमपूर्ण भएको भनेको थियो। ‘अन्य कम्पनीलाई रेम्डिसिभिर उत्पादन गर्न दिने प्रस्ताव गरिरहँदा यो औषधि उत्पादन गर्न ६ देखि १२ महिना लाग्छ भन्ने तथ्यलाई बेवास्ता गरिएको छ,' गिलियडको दाबी थियो। तर वास्तविकता अर्कै थियो। बंगलादेशको कम्पनीले गिलियडको सहायता र अनुमतिबिना नै ६ महिनाभन्दा कम समयमा यसको उत्पादन गरेर अन्य देशमा बिक्री गर्न थाल्यो। गिलियडको प्याटेन्ट र अन्य कानूनी अड्चनका कारण उसले अमेरिकामा भने आफ्नो उत्पादन बेच्न पाएन। 

हामीले गर्न नहुने एउटै काम हो– ठूला भ्याक्सिन निर्माता कम्पनीका वाचाहरुमा विश्वास। उनीहरु आफ्नै प्रयत्नले सकेसम्म छिटो महामारी अन्त्य गर्न लागिपर्नेछन् भन्नु सबैभन्दा ठूलो झुठ हो। 

मोडेर्ना, फाइजर, जोन्सन एन्ड जोन्सन र अस्ट्राजेनेका जस्ता ठूला भ्याक्सिन उत्पादकले झुठो भन्ने जान्दाजान्दै पनि ‘सकेजति छिटो धेरै भ्याक्सिन उत्पादन गरिरहेका छौं’ भनेर किन दावी गरिहेका छन् त? किनभने उनीहरुलाई संसारैभरका सरकार, नागरिक समाज र बिरामीबाट सकेजति छिटो र धेरै भ्याक्सिन उत्पादन गर्न दबाब परिरहेका छ। भारत, ब्राजिल, इरान र अन्य देशमा ठूलो मात्रामा मानिसहरूको ज्यान गइिरहँदा अमेरिकी जनताले आफ्नो सरकारलाई कोभिड भ्याक्सिनमा नियन्त्रण जमाउन र ठूलो मात्रामा उत्पादन गर्न दबाब दिइरहेका छन्। (एमआरएनए भ्याक्सिन र जोन्सन एन्ड जोन्सन भ्याक्सिनको आधारभूत प्रविधि अमेरिकाको सरकारी प्रयोगशाला ‘नेसनल इन्स्टिच्युट अफ् एलर्जी एन्ड इन्फेक्टिसियस डिजिजेज्’मा आविष्कार भएको थियो, जसको नेतृत्व डा. एन्थोनी फाउसीले गरेका थिए। अरु महत्वपूर्ण सामग्री विभिन्न विश्वविद्यालयहरुमा तयार पारिएको थियो। उदाहरणका लागि, फाइजरले निर्माण गर्ने भ्याक्सिन लिपिडमा आधारित डेलिभरी प्रणालीमा निर्भर छ। र त्यो प्रणाली ‘युनिभर्सिटी अफ ब्रिटिस कोलम्बिया’मा तयार पारिएको हो। अहिलेका सबै भ्याक्सिनको आविष्कार, उत्पादन र वितरणका लागि संसारैभर सरकारी सहयोग दिइएको छ।) त्यसैले नै अमेरिकाका विभिन्न नागरिक समाजहरुले ती कम्पनीलाई आफूसँग भएको प्याटेन्ट अधिकार र भ्याक्सिन उत्पादन गर्ने गोप्य विधि अन्य कम्पनीहरुलाई दिन आग्रह गरेका छन्।

कोरोना खोप कोभिसिल्ड उत्पादक कम्पनी सेरमका कर्मचारी। तस्बिर : अतुल लोक/द न्युयोर्क टाइम्स।

सीमित समाजहरुले गरेको यस्तो आह्वान निस्तेज पार्न, सार्वजनिक बहस पन्छाउन र यथास्थितिलाई कायम राख्न वर्तमान भ्याक्सिन उत्पादक कम्पनीहरुले गर्ने एउटै झुठो दावी हो- ‘भ्याक्सिनको अभाव दुखद् तर अवश्यम्भावी छ।’ अझ उनीहरु के पनि दावी गर्छन् भने, सरकारले यस क्षेत्रमा गर्ने कुनै पनि हस्तक्षेप अनावश्यक, मुर्खतापूर्ण हुनेछ। त्यसले सिंगो औषधि र बायोटेक क्षेत्रलाई नै क्षति पुर्‍याउनेछ।

उनीहरूको दावीलाई प्रश्न गर्न सकिने धेरै आधार छन्। महामारी शुरु हुँदै गर्दा धेरै कमले मात्र एक वर्षभित्रमै भ्याक्सिनको विकास, उत्पादन र वितरण सम्भव छ भनेर सोचेका थिए। म्यासाच्युसेट्समा रहेको मोडेर्नाको फ्याक्ट्रीले यसअघि एउटा पनि औषधि वा भ्याक्सिन बनाएको थिएन। अपूर्व प्रयत्न र संसारैभरका सरकार, बहुपक्षीय संस्थाहरु, स्वास्थ्य क्षेत्रमा आबद्ध व्यक्तिहरु, अनुसन्धानर्ता र उद्योगहरुको सहकार्यले हामीले छोटो समयमै सुरक्षित र प्रभावकारी भ्याक्सिन उत्पादन गर्न सक्यौं। 

हरेक व्यक्तिलाई भ्याक्सिन पुर्‍याउन हामीले अझ धेरै प्रयत्न गर्नुपर्ने छ। हामीले सन् २०२१ को अन्त्यसम्ममा भ्याक्सिनको वितरणलाई ठूलो मात्रामा बढाउन सक्नेछौं तर त्यसका लागि (मूलतः अमेरिकी) सरकारको साहसपूर्ण निर्णय चाहिन्छ। त्यसले दुई वटा निश्चय गर्नेछः बृहत्ताकार नागरिक लगानी र अहिलेका उत्पादकबाट उत्पादन गोपनीयताको प्रसारण। यसका लागि महिनौं लाग्नेछ। हामीले प्रयास नथाल्दासम्म कति समय लाग्नेछ भन्ने पनि थाहा पाउने छैनौं। हो, अरु भ्याक्सिन पनि उत्पादन हुने चरणमा छन् त संसारैभरको आवश्यकतालाई हेर्दा हामीले अहिले पत्ता लागिसकेका भ्याक्सिनको उत्पादन बढाउन जोड दिनुपर्नेछ। 

हामीले गर्न नहुने एउटै काम हो– ठूला भ्याक्सिन निर्माता कम्पनीका वाचाहरुमा विश्वास। उनीहरु आफ्नै प्रयत्नले सकेसम्म छिटो महामारी अन्त्य गर्न लागिपर्नेछन् भन्नु सबैभन्दा ठूलो झुठ हो। 

(न्यूयोर्क युनिभर्सिटी स्कुल अफ ल’को ‘टेक्नोलोजी ल एन्ड पोलिसी क्लिनिक’का कार्यकारी निर्देशक क्रिस्टोफर मोर्टन एचआइभीको औषधि सर्वसुलभ बनाउन कार्यरत संस्था ‘प्रेपफरअल’सँग आबद्ध छन्। ‘डलहाउजी विश्वविद्यालयको ‘फ्याकल्टी अफ मेडिसिन एन्ड स्कुलिस स्कुल अफ् ल’का सह–प्राध्यापक म्याथु हर्डर ‘हेल्थ ल इन्स्टिच्युट’का निर्देशक हुन्। अमेरिकी म्याग्जिन ‘द नेसन’मा प्रकाशित लेखको अनुवाद लक्ष्मण श्रेष्ठले गरेका हुन्।)

प्रकाशित: Jun 27, 2021| 07:48 आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।