काठमाडौं- काठमाडौंमा कोठा खोज्दा जातीय विभेद खेपेकी रुपा सुनारले आफूविरुद्ध भ्रामक समाचार लेख्ने ९ वटा अनलाइनविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी छन्।
जातीय विभेदको विरोध गर्दा युरोपियन युनियनबाट उचालिएको, थुप्रै पैसा खाएको जस्ता लाञ्छनायुक्त समाचार प्रकाशन गर्ने अनलाइनहरुविरुद्ध रुपाले प्रेस काउन्सिलमा उजुरी दिएकी हुन्। ती अनलाइनहरुले भ्रामक समाचार लेखेर जातीय छुवाछूतलाई थप दुरुत्साहन गर्ने कार्य गरेको रुपाले उजुरीमा उल्लेख गरेकी छन्।
नेपालपाना डटकम, खबरमाला डटकम, कालापानी पोस्ट, इकालापानी पोस्ट, मिडिया२०पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम, साझा मिडिया डटकम र नेपालपहरा डटकमविरुद्ध रुपाले काउन्सिलमा उजुरी दिएकी छन्।
उजुरीमा उनले उल्लेखित अनलाइनहरुमाथि प्रेस काउन्सिलबाट आवश्यक कानूनी कारबाही गर्नुका साथै ती अनलाइनहरुलाई साइबर अपराध कसुर अन्तर्गत कारबाहीका लागि सिफारिस गर्न मागसमेत गरेकी छन्।
रुपा सुनारले केही दिनअघि काठमाडौंको बबरमहलस्थित एक घरमा जातीय विभेदका कारण डेरा पाउन सकेकी थिइनन्। रुपालाई जातीयताका कारणले डेरा नदिने घरधनीलाई प्रहरीले पक्राउ गरेर केही दिन सोधपुछ गरी छाडिसकेको छ।
