कैलाली- कोरोना भाइरसको दोस्रो लहर फैलिएयता सुदूरपश्चिममा पछिल्ला दुई दिनमा यो रोगबाट संक्रमित हुनेको मृत्युदर शून्यमा झरेको छ।
गएको ४८ घण्टामा प्रदेशमा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको जानकारी नआएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ। यो अवधिमा एक हजार ८९२ जनाको नमुना परीक्षण गरिएकोमा ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। ४४४ जना संक्रमणमुक्त भएका छन्।
दोस्रो लहर फैलिएयता प्रदेशमा पहिलो पटक गएको जेठ २५ गते पनि मृत्यूदर शून्य थियो।
प्रदेशमा अहिलेसम्म ४३ हजार ४४२ संक्रमित पुगेका छन् । प्रदेशमा अहिलेसम्म दुई लाख ५९ हजार ८८७ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकिएको छ।
दोस्रो लहरको कारोना भाइरस फैलिएयता गएको जेठ ७ गते एकै दिनमा प्रदेशमा सबै भन्दा बढी ९८४ जना नयाँ संक्रमित थपिएका थिए। प्रदेशमा सबैभन्दा बढी एकै दिन ३१ जना संक्रमितको मृत्यु भएको थियो।
कोरोना भाइरसको रोकथामका लागि जारी गरिएको निषेध आदेश प्रदेशका जिल्लाहरूमा पछिल्लो हप्तादेखि केही खुकुलो पारिएको छ।
पछिल्ला हप्तामा कोरोना भाइरसको संक्रमण र मृत्यु हुने दर घटेको देखिए पनि संक्रमणको जोखिम यथावत् रहेको स्वास्थ्यकर्मीको भनाइ छ।
निर्देशनालयको तथ्यांक विश्लेषण गर्दा हालसम्म प्रदेशमा जम्मा नमुना परीक्षण गरिएकामध्ये ४३ हजार ४४२ जना अर्थात् झण्डै १७ प्रतिशतमा संक्रमण भएको पाइएको छ। संक्रमित हुनेमध्ये ५७० जना अर्थात् एक दशमलव ३१ प्रतिशतको मृत्यु भएको छ। रासस