काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको परराष्ट्र नीति विश्व शान्तिका लागि हुने बताएका छन्। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालका नीति शान्तिका पक्षमा रहने बताएका हुन्।
‘विश्वमा शान्ति छाउनुपर्छ भन्ने नै हाम्रो नीति हो। हामी कुनै पनि प्रकारका अशान्तिको कुराहरुमा छैनौं,’ उनले भने, ‘विश्व शान्तिका लागि सबैले ध्यान दिनुपर्छ। हाम्रो परराष्ट्र नीति, आन्तरिक नीति र विकास नीति पनि त्यस्तै हुन्छ।’
मानव जाति, धर्ति, देश र जनतालाई माया गर्ने खालका नीति नेपालले अख्तियार गरेको समेत बताएका थिए। उनले वैदेशिक सम्बन्ध र आन्तरिक नीतिको आधार जग शान्ति भएको उल्लेख गरेका थिए।
प्रधानमन्त्री ओलीले छिमेकीसँग कुनै असमझदारी र समस्या भए हटाउने र नभए पैदा हुन नदिने आफूहरुको नीति रहेको बताए। ‘समस्या र असमझदारी पैदा भइहालेमा संवादको बाटोबाट शान्तिपूर्ण समाधान चाहन्छौं,’ उनले भने।