काठमाडौं– नवनियुक्त स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठले आगामी वर्षभित्र सबै नेपाली नागरिकले कोभिड भ्याक्सिनको चिन्ता गर्नु नपर्ने र मास्क पनि लगाउन नपर्ने अवस्था आउने बताएका छन्।
शुक्रबार स्वास्थ्य मन्त्रालयमा पद बहाली गर्दै मन्त्री श्रेष्ठले नागरिकलाई खोप लगाउने काममा सरकार जिम्मेवार रहेको बताए। कोरोनाको सम्भावित तेस्रो वेभलाई ध्यानमा राखेर सरकारले काम गर्ने पनि उनको भनाइ थियो।
मन्त्री श्रेष्ठले भने, ‘काम र परिणाम जनताले मूल्यांकन गर्नेछन्। निर्वाचनमा जान जनताले भ्याक्सिनको तगारो हालेका छन्। नो भ्याक्सिन नो भोट भनेका छा्। यो जनताले सरकारप्रति गरेको खबरदारी हो, यसलाई हामी ध्यान दिनेछौं।’
भाषणभन्दा काम र परिणाममा ध्यान दिने उनले बताए। उनले थपे, ‘चमत्कारिक सफलतातिर जाँदैछौं। सरकारसँग आँट छ, यो सरकार आत्तिँदैन, सरकारले काम गर्छ। काम गर्नु अगाडि हल्ला नगरौं।’ मन्त्रालयका सचिव लक्षमण अर्यालले स्वास्थ्य क्षेत्रमा धेरै अफ्ठ्यारा भएकाले प्राथमिकताका क्षेत्र छुट्याएर काम गर्नुपर्ने बताए।
यसअघिका स्वास्थ्यमन्त्री शेरबहादुर तामाङसहित २० मन्त्रीको नियुक्ति सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकी रहेका चार मन्त्रीलाई अन्य मन्त्रालयको जिम्मेवारी समेत दिएकी हुन्।