काठमाडौं– मंगलबार करिब ८० अंकले बढेको सेयर बजार आज बुधबार भने ५३.८८ अंकले ओरालो लागेर २८५९ अंकमा अडिएको छ। यसदिन कारोबार रकममा पनि भारी गिरावट आएको छ। आज दिनभर ८ अर्ब ३६ करोड रुपैयाँबराबरको मात्र कारोबार भएको छ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर बजारमा कडाइ गर्ने समाचार बाहिरिएपछि बजार घटेको अनुमान विश्लेषकले गरेका छन्। लगानीकर्ताले सेयर बेचेर आफ्नो लगानी सुरक्षित गर्न चाहेपछि बजार ओरालो लागेको हो। बजारमा तरलताको अभाव हुन थालेको र मार्जिन प्रकृतिको कर्जा लिएकाहरुको हकमा मार्जिन कल आउन थालेपछि बजारमा बिक्रीको चाप बढेर बजार ओरालो लाग्न थालेको बजार विश्लेषकहरुको भनाइ छ।
बुधबार सेयर बजारका सम्पूर्ण समूहगत परिसूचक ओरालो लागेको छ। घटेको बजारमा पनि राँधी जलविद्युत् आयोजनाको सेयर मूल्य भने ९.७१ अंकले बढेको छ। यसदिन २३ कम्पनीको सेयर उकालो लागेको छ भने ८५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।
सबैभन्दा बढी नेपाल पुनर्बिमा कम्पनीको सेयर कारोबार भएको छ। कम्पनीको ५४ करोड ३० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको हो।