काठमाडौं- जातको कारण देखाएर रूपा सुनारलाई आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरोपमा पक्राउ परेकी बबरमहलकी घरबेटी प्रहरी हिरासतबाट रिहा भएकी छन्।
प्रहरीले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो र अनुसन्धान फाइल जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो। सरकारी वकिलको कार्यालयले घरबेटीविरूद्ध प्रमाण नपुगेको भन्दै मुद्दा फिर्ता गरिदिएको छ। मुद्दा अदालत नजाने भएपछि उनी रिहा भएकी हुन्।
आफूलाई थरकै कारण कोठा दिन इन्कार गरेको भन्दै घरबेटीविरूद्ध रूपाले प्रहरीमा उजुरी दिएकी थिइन्। उनलाई रिहा गर्न माग गर्दै आज बबरमहल, बानेश्वर क्षेत्रमा प्रदर्शनसमेत भएको थियो।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पनि स्थानीयले गरेको प्रदर्शनमा पुगेका थिए। उनी आफैं प्रहरी परिसर टेकु पुगेको र त्यसपछि सरकारी वकिलको कार्यालयसँगको छलफलपछि हाजिरी जमानीमा छोड्न आदेश भएको बुझिएको छ।