विराटनगर- सुरक्षाकर्मीलाई छल्नका लागि लागुऔषध ओसारपसार गर्ने गिरोहले अनेक उपाय अपनाउन थालेका छन्।
नेपाल–भारत सीमा क्षेत्रमा गरिएको सुरक्षा कडाइपछि कानुनद्धारा बर्जित लागुऔषध ओसार्न गिरोहले विभिन्न उपाय अवलम्बन गर्न थालेका हुन्। भारतीय बजार जोगवनीबाट नेपालतर्फ लागुऔषधको अवैध ओसारपसार हुने गरेको छ।
खाने तेलको ग्यालेनभित्र राखेरसमेत लागुऔषधको ओसारपसार हुने गरेको तथ्य फेला परेको छ। ग्यालेनमा तेल ल्याएजस्तो देखाएर लागुऔषध ल्याउने गरिएको प्रहरीले पत्ता लगाएको हो।
खाने तेलको ग्यालेनमा राखेर लागुऔषध लिएर आउँदै गर्दा विराटनगरबाट प्रहरीले मंगलबारसाँझ एक जनालाई पक्राउ गरेको छ। जोगवनीबाट लागुऔषध लिएर आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१६ दक्षिण गेटबाट ३२ वर्षीय राजकुमार मगर पक्राउ परेका हुन्।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार सुनसरी चक्रघट्टीका मगरले ग्यालेनमा तेल राख्दै त्यहाँभित्र लागुऔषध हालेर ल्याएको खुलेको छ। उनका अनुसार मगरले बोकेको ग्यालेनभित्रबाट लागुऔषध एभिल ७७ एम्पुल, लुपिजेसिक ७५, डाइजेल्याप ७५ र फेनारगन ७८ एम्पुल बरामद भएको छ।