काठमाडौं- ललितपुर महानगरपालिकाले आज ७७ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको कोभिशिल्ड खोप लगाउने भएको छ।
महानगरले ७७ वर्ष माथिका दुई हजार २२० जना कोभिशिल्डको दोस्रो मात्राको खोप दिन लागेको हो। खोप आज बिहान १० देखि ४ बजेसम्म सञ्चालन हुनेछ। यसका लागि महानगरपालिकाले आठ वटा खोप केन्द्र तोकेको छ।
ललितपुर वडा नम्बर ५, ६, ७, ८, १२, १४, १५, १७ र १९ का नागरिकका लागि लगनखेल (पशु सेवा केन्द्र, पशु अस्पताल)मा खोपकेन्द्र तोकेको छ।
यस्तै वडा नम्बर १, ९, १०, ११, १६ र २० का नागरिकले पाटनढोका (पाटन हाइस्कुल) मा, वडा नम्बर २, ३, ४ र १३ का नागरिकले ललितपुर महानगरपालिका प्राङ्गणमा र वडा नम्बर २३ र २४ का नागरिकले धापाखेल स्वास्थ्य चौकीमा गएर खोप लगाउनुपर्नेछ।
त्यस्तै वडा नम्बर २६ र २७ का नागरिकले सुनाकोठी (बालकुमारी स्कुल) मा, वडा नम्बर २१ र २२ का नागरिकले कार्यविनायक स्कुलमा, वडा नम्बर २८ र २९ का नागरिकले हरिसिद्धि स्वास्थ्यचौकीमा र वडा नम्बर १८ र १५ का नागरिकले सैंबु स्वास्थ्यचौकीमा खोप लगाउन आग्रह गरिएको छ।
खोप लगाएका व्यक्तिले पहिलो मात्रा लगाएको खोपकार्ड र उमेर खुल्ने प्रमाणपत्र लिएर खोप केन्द्रमा जान महानगरले आग्रह गरेको छ।