बर्दिया- जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाको आयोजनामा बाढीको कृत्रिम घटना अभ्यास गरिएको छ। बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरस्थित कर्णाली नदीमा बाढी पूर्वाभ्यास सम्पन्न भएको छ।
बाढीको बेला हुन सक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारमा प्रयोग हुने उद्धार सामग्री र जनशक्तिको अद्यावधिक तथा पुनर्ताजगीका लागि खोज तथा उद्धारकार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ हरेक वर्षझैँ यस वर्ष पनि कर्णाली नदीमा बाढी कृत्रिम घटना अभ्यास कार्यक्रम आयोजना गरिएको हो।
नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको प्राविधिक सहयोगमा बाढीको कृत्रिम घटना अभ्यास सम्पन्न गरिएको छ। घटना अभ्यासमा उद्धार गरी ल्याइएका घाइतेलाई नेपाल रेडक्रस सोसाइटीको प्राथमिक उपचारक टोलीले प्राथिमक उपचार सेवा प्रदान गरी एम्बुलेन्समार्फत् नजिकको अस्पतालमा पठाउने कार्य भएको थियो।
बाढीको कृत्रिम घटना अभ्यासमा सबै सरोकारवाला निकायको सहभागिता थियो। जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७८ र मनसुन पूर्वतयारी कार्ययोजनाअनुसार सोको प्रभावकारिताका लागि योजनाको परीक्षणसमेत गर्नुपर्ने व्यवस्था भएबमोजिम कर्णाली नदीको दौलतपुरघाट नजिक कार्यक्रम आयोजना गरिएको हो।
प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाका संयोजक सन्तबहादुर सुनारले कृत्रिम घटना अभ्यासको ब्यानर पढेर उद्घाटन गर्दै अभ्यासले बाढीका बखत जनशक्ति तथा आवश्यक खोज तथा उद्धार सामग्रीको पूर्वतयारी गर्न सहयोग पुग्ने बताए।
बाढी कृत्रिम अभ्यास कार्यक्रममा नेपाली सेना र सशस्त्र प्रहरी बलसँग रहेको मोटरबोट, रवरबोटलगायतका खोज तथा उद्धार सामग्रीको प्रयोग गरिएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत गौरीलाल बुढाथोकीले जानकारी दिए। रासस