सोमबार, भदौ ८, २०८३

जानकी गाउँपालिकाद्वारा किसानलाई बोका वितरण

कैलालीको जानकी गाउँपालिकाले व्यावसायिक बाख्रापालन गरिरहेका किसानलाई बोका वितरण गरेको छ।
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

टीकापुर- कैलालीको जानकी गाउँपालिकाले व्यावसायिक बाख्रापालन गरिरहेका किसानलाई बोका वितरण गरेको छ। पालिकालाई मासुमा आत्मनिर्भर बनाउन बाख्रापालनमा थप सहयोग होस् भनी उन्नत जातका बोका वितरण गरिएको हो। पालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा बोयर क्रस बोका र ७५ प्रतिशत अनुदानमा लोकल जातको बोका वितरण गरेको हो।  

पालिकाले बाख्रापालन गरिरहेका किसानलाई बोका वितरण गरेपछि बाख्रापालक किसान खुशी भएका छन्। जानकी–४ का किसान सुरेशकुमार कठरियाले व्यावसायिक बाख्रापालन गरेको दुई वर्ष भयो। बाख्रापालन व्यवसायलाई थप बढाउन उन्नत जातको बोका पाएपछि सहज हुने उनको भनाइ छ। 

'गाउँमै केही गरौँ भनी बाख्रापालन व्यवसाय शुरु गरेको हुँ, उन्नत बोका भएपछि अब उन्नत जातका बाख्रा जन्मनेछन्', कठरियाले भने, 'यसले व्यवसायलाई थप बढाउन सहयोग पुग्छ । पालिकाले किसानलाई सघाउने कार्यक्रमले हामी खुशी छौं।'
 
पालिकाले कठरियाजस्तै नौ जना किसानलाई बोका वितरण गरेको हो । जानकी–१ का ओमप्रकाश चौधरी पनि गाउँपालिकाबाट उन्नत जातको बोका पाएपछि खुशी भएका छन्। उनी अनुदानमा पाएको बोकाले आफूले गरिरहेको बाख्रापालन कार्यमा टेवा पुग्ने बताउँछन्। 'हामीले उन्नत जातको बोका किन्न खोजेको बेला पाउन समेत कठिन हुन्छ, उन्नत जातको बोका भएमा स्थानीय जातको लोकल बाख्राले पनि उन्नत पाठापाठी जन्माउन सक्छन्', चौधरीले भने, 'यसले बाख्रा उन्नत खालको हुनुका साथै व्यवसाय फस्टाउन सहयोग पुग्छ। बाख्रा धेरै भएमा मासुको अभाव पूर्ति गर्न सहयोग पुग्छ।'

पालिका अध्यक्ष प्रदीपकुमार चौधरीले बोका वितरण खाली वितरणका लागि सीमित नभएर उत्पादनमा वृद्धि हुने गरी प्रतिफल दिन किसानलाई आग्रह गरे। 'तपाईंहरुलाई स्वरोजगार बनाउन पनि यस कार्यक्रमले भूमिका खेल्ने अपेक्षा छ । पालिकास्तरमा बाख्रा उत्पादनको अवस्थालाई वृद्धि गर्न बोका वितरण गरेका हौं', अध्यक्ष चौधरीले भने, 'किसानलाई लाभ हुने खालका थप कार्यक्रम आगामी वर्ष ल्याउने तयारीमा छौँ । यहाँहरु राम्रो गर्नुहोला । सरकार सधैँ सहयोगी भूमिकामा हुनेछ।'

बोयरका उन्नत जातका पाठापाठी उत्पादन गर्ने र अन्य जातभन्दा बोयर जातको बोका, खसीहरु बढी तौलका हुने, यस क्षेत्रको हावापानीमा उपयुक्त मानिएकाले बोयर जातका बोका वितरण गरिएको पशुसेवा शाखाका प्रमुख नरबहादुर कार्कीले बताए। 'अन्य बाख्राभन्दा यसमा रोग पनि कम लाग्ने, सामान्य स्याहार सुसारमा पनि हुर्कन सक्ने भएकाले किसानले पनि यही जातको बोका माग गरे', उनले भने, 'पशु सेवा शाखाले किसानको मागलाई मध्यनजर गर्दै बोयरका बोकाहरु वितरण गरेको हो।'

महिला स्वास्थ्य स्वयंसेविकालाई स्टिल दराज वितरण

जानकी–३ ले महिला स्वास्थ्य स्वयंसेविकालाई स्टिल दराज वितरण गरेको छ। स्वयंसेविकाहरुका स्वास्थ्य कागजातहरु सुरक्षित राख्न मद्दत पुगोस् भनी वडामा रहेका नौ महिला स्वास्थ्य स्वयंसेविकालाई स्टिल दराज वितरण गरिएको हो। महिला स्वास्थ्य स्वयंसेविका चन्दा साउदले अब कागजात राख्न सहज हुने बताए। 

'हामीले विभिन्न रिपोर्टिङ, पालिकाका सबै स्वास्थ्य कार्यक्रम, अन्य सामाजिक अभियानमा काम गर्नुपर्छ', साउदले भने, 'अब दराज दिनुभएको छ। अब कागजात सुरक्षित राख्न सहज हुनेछ। बाँकी दराजमा आफ्ना अन्य महत्वपूर्ण कागजात राख्न पनि मिल्नेछ।'

अर्की स्वयंसेविका विदेशनी चौधरी वडाले आफूहरुलाई हौसला दिने काम गरेको बताउँछन्। 'लामो समयदेखि काम गरिरहेका हामीलाई आवश्यक साइकल, मोबाइल, दराजजस्ता सामान दिएर काममा थप हौसला मिलेको छ', चौधरीले भने, 'झोलामा कागजात राख्ने गर्‍थ्यौं, अब सहज हुन्छ।' वडा नम्बर ३ का वडाध्यक्ष प्रदीपकुमार शाहले स्वास्थ्यसम्बन्धी रिर्पोटिङ गरेका कागजात सुरक्षित राख्न र स्वयंसेविकालाई थप जिम्मेवार बनाउन दराज वितरण गरिएको बताए। रासस

प्रकाशित: Jun 22, 2021| 05:14 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।