धनगढी- डडेल्धुरा परशुराम नगरपालिकाका-८, जमरानी स्वास्थ्य एकाइ केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामीको मृत्यु रहस्यमय बन्दै गएको छ। असार ५ मा परशुराम नगरपालिका–९ हट्वानी सामुदायिक वनमा मृत फेला परेकी उनको हालसम्म मृत्युको कारण खुल्न सकेको छैन।
शवकाे पोस्टमार्टम गरिएको छ। यद्यपि हालसम्म रिपोर्ट भने आइसकेको छैन। इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक रमेश अवस्थीले घटना अनुसन्धानकै क्रममा रहेको बताएका छन्। नेपाल समयसँग कुरा गर्दै उनले पोस्टमार्टमका लागि सोमबार पठाइएकोमा त्यसको रिपोर्ट आउन बाँकी रहेको बताए।
घटना अनुसन्धानकै क्रममा रहेकाले अहिले धेरै कुरा खोल्न नमिल्ने बताउँदै उनले पोस्टमार्टम रिपोर्ट आइसकेपछि घटनाबारे केही जानकारी दिने बताए।
प्रहरीले घटनाको अनुसन्धानका लागि छुट्टाछुट्टै टोली परिचालन गरेको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुरा, संघीय प्रहरी एकाइ कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै प्रहरी टोली परिचालन गरिएको छ।
‘अस्मितालाई न्याय दे, घटनाको सत्यतथ्य छानबिन गर, महिला हिंसा अन्त्य गर, स्थानीय सरकार कान खोल’ भन्दै डडेल्धुराको जोगबुढा बजारमा प्रदर्शन गरिएको छ।
असार २ गते आधारभूत स्वास्थ्य एकाइ केन्द्र जमरानीबाट बचेको कोभिड–१९ विरुद्धको खोप र स्वास्थ्य सामग्री लिएर जोगबुढा अस्पताल पुर्याउन निस्किएकी थिइन्। त्यसको तीन दिनपछि उनको शव फेला परेको हो।
अनुसन्धान खटिएको प्रहरीका अनुसार शवसँगै उनले बोकेको खोपको क्यारियर भेटिएको थियो। शरीरमा निलडाम देखिएको छ भने शव फेला परेको स्थानसम्म घिसारेको जस्तो देखिन्छ।
शव फेला परेको स्थानमा मदिराको खाली सीसी फेला परेको थियो। उनले प्रयोग गर्ने मोबाइल थिएन।
अस्मिताका आफन्तहरू दोषीलाई कारबाही गर्नुपर्ने भन्दै आन्दोलित छन्। उनीहरूले ‘अस्मितालाई न्याय दे, घटनाको सत्यतथ्य छानबिन गर, महिला हिंसा अन्त्य गर, स्थानीय सरकार कान खोल’ भन्दै डडेल्धुराको जोगबुढा बजारमा प्रदर्शन गरेका हुन ।
उनीहरूले नगर प्रमुख भीमबहादुर साउँदलाई ६ बुँदे ज्ञापनपत्रसमेत बुझाएका छन्।
यसरी भेटियो अस्मिताको शव
जमरानी आधारभूत स्वास्थ्य एकाइ केन्द्रमा कार्यालय सहयोगी पदमा कार्यरत अस्मिता विगत अढाइ वर्षदेखि कार्यरत थिइन्।
अस्मिताले नै घर खर्च र दुई छोरीको पढाइलेखाइ गराउँदै आएकी थिइन्। उनका श्रीमान् अम्मरबहादुर धामी खेती किसानी गर्दै आएका छन्।
पदले कार्यालय सहयोगी भए पनि महामारीको समयमा स्वास्थ्यकर्मीहरूलाई सघाउँदै आएकी थिइन् सुस्मिता। कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालनपछि बचेको खोप जोगबुढा अस्पताल फिर्ता गर्न कार्यालयले खटाएको थियो।
कार्यालयले खटाएअनुसार उनी बचेको खोप बोकेर असार २ गते बिहान ११ बजे तिर हिँडेकी थिइन्। बेलुकासम्म उनी फर्किनुपर्ने थियो। तर, नफर्केपछि उनको परिवार चिन्तित थियो।
अस्मिताको मोबाइल स्वीच अफ थियो। उनी दिनहुँ घरबाटै कार्यालय आउने गर्थिन्। खोप अभियानका कारण एक दिन कार्यालय नजिकै आफन्तको घरमा बस्ने र अर्को दिन छोरीका लागि घर पुग्ने गर्थिन्। उनी त्यो दिन आफन्तको घरमै बसिन् कि भनेर परिवारले त्यति चासो दिएन।
असार ३ गते परिवारकाले उनी आफन्तको घरबाट सोझै कार्यालय गएको सोचे। उता कार्यालय प्रमुखले उनी थाकेको हुन सक्ने र सोही कारण आराम गरेको अनुमान लगाए। दिउँसो श्रीमानले अस्मितालाई फोन गरे। तर, मोबाइल स्वीच अफ आयो। उनले कार्यालय प्रमुखलाई फोन लगाए।
शवभन्दा यतै एउटा चप्पल र मास्क फालिएको थियो भने नजिकै कोभिड–१९ विरुद्धको खोपको क्यारियर फेला परेको थियो।
कार्यालय प्रमुखले अस्मिता कार्यालय नपुगेको बताए। उनले वडाध्यक्ष गोविन्द बोहरालाई फोन गरेर घटनाबारे बताए। उनले अस्मिता जाने जति सबै आफन्तकोमा फोन गरे। तर, कतैबाट अस्मिताको जानकारी आएन। वडाध्यक्ष बोहराले अस्मिताको खोजी गर्न थाले। उनले सबैसँग सोधपुछ नौलासम्म अस्मिता देखिएको खबर आयो।
अध्यक्ष बोहराले ४ गते गाउँमा सल्लाह गरेर अस्मिताको खोजीकार्य अगाडि बढाए। प्रहरीलाई घटनाबारे जानकारी गराएर उनले एक सय जनाको समूह बनाएर खोजीकार्य गरे। तर, त्यो दिन फेला पार्न सकिएन।
असार ५ गते जोगबुढा जाने मूल बाटोदेखि ७० मिटरको दूरीमा हट्वानी सामुदायिक वनमा शरीरमा निलडाम र हातको चुरा फुटेको अवस्थामा उनको शव फेला पर्यो। शवभन्दा यतै एउटा चप्पल र मास्क फालिएको थियो भने नजिकै कोभिड–१९ विरुद्धको खोपको क्यारियर फेला परेको थियो।
‘शवको प्रकृति हेर्दा अस्मिताको जबर्जस्तीकरणी गरेर हत्या गरेको जस्तै देखिन्छ,’ अध्यक्ष बोहरा भन्छन्, ‘नजिकै रक्सीको क्वार्टर भेटिनुले त्यस्तै संकेत गर्छ।’
अस्मिताको श्रीमान् अम्मरबहादुर धामीले श्रीमतीको हत्या भएको आशंका गरेका छन्। उनले घटनाको सत्यतथ्य छानबिन गरेर न्याय दिन अनुरोध गरे।
प्रदेशसभामा अस्मितालाई न्यायको माग
सुदूरपश्चिम प्रदेश सभाको बैठकमा डडेल्धुराकी अस्मिता धामीको हत्याका दोषी पत्ता लगाई कारबाही गर्न माग गरिएको छ।
प्रदेशसभा सदस्य कुन्ती जोशीले दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरिन्। उनले धामीका परिवारलाई क्षतिपूर्ति प्रदान गर्न र सन्तानको उचित लालनपालनमा गम्भीर बन्न प्रदेश र संघीय सरकारलाई आग्रह गरिन्।
प्रदेशसभा सदस्य पठानसिंह बोहराले मृतक अस्मिता घटनाको सत्यतथ्य छानबिन गर्न माग गरे। प्रदेशसभा सदस्य भरत खड्का र गोविन्द बोहराले पनि अस्मिताको हत्यारो जो सुकै भए पनि कानुनी दायरामा ल्याउनुपर्ने माग गरे।
र, याे पनि
कोभिड भ्याक्सिन बोकेर हिँडेकी स्वास्थ्यकर्मीको रहस्यमय मृत्यु, अनुसन्धानमा प्रहरीका दुई टोली