काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ मा रहेको भेमाथाङ चौरमा पहिरो जाँदा मेलम्ची नदीमा आएको बाढीमा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही गाउँपालिका–१ हल्देका ४३ वर्षीय सुनील तामाङ रहेको हेलम्बुले सार्वजनिक गरेको क्षतिको विवरणमा उल्लेख छ।
बाढीमा परी गाउँपालिकामा ५ महिला र १० पुरुष गरी १५ जना बेपत्ता छन्। बेपत्ता हुनेमा हल्देकै ४३ वर्षीय पूर्ण तामाङ, ६० वर्षीय कामी तामाङ, ८१ वर्षीया नेर्की तामाङ छन्। यस्तै तल्लो तिम्बुकी २० वर्षीया गीता थापा, उनका एक वर्षीय छोरा, हेलम्बु गाउँपालिका– २ किउलका ३१ वर्षीय माधव भण्डारी, सोही वडामा पर्ने चुरेटाका ४२ वर्षीय गणेश ज्योति र किउलकै २३ वर्षीय सुरेन्द्र नेपाल पनि बेपत्ता छन्।
बेपत्ता हुने अन्यमा हेलम्बु गाउँपालिका, पाल्चोक सेराकी ६६ वर्षीया दिलकुमारी खड्का, हेलम्बु–३ चालिका ४० वर्षीय च्याङ्बा तामाङ, उनकी ५० वर्षीया पत्नी काली तामाङ पनि बेपत्ता भएका छन्। बाढीमा परी हेलम्बु–६ का ४६ वर्षीय भीमप्रसाद भण्डारी, ९२ वर्षीय तस्बिर तामाङ, हेलम्बु–६ चनौटेका ५४ वर्षीय ज्ञानेन्द्र कक्षपति र चनौटेकै ५१ वर्षीय साहिँली तामाङ छन्।
बाढीले चारवटा मोटरेबल पुल, ६ वटा झोलुंगे पुल र ५ किमि सडक पूर्ण नष्ट गरेको छ। बाढीले ११० वटा घर बगाउँदा १७ सय १९ जना विस्थापित भएका छन्।
बाढीले चारवटा मोटरेबल पुल, ६ वटा झोलुंगे पुल र ५ किमि सडक पूर्ण नष्ट गरेको छ। बाढीले ११० वटा घर बगाउँदा १७ सय १९ जना विस्थापित भएका छन्।
बाढीले हेलम्बु– १ तिम्बुमा रहेको मेलम्ची खोलाको पक्की पुल बगाएको छ। यस्तै दङतोम्बा पुल, चोक्पु र मेलम्ची घ्याङ जोड्ने पुल बाढीले बगाएको हेलम्बुका प्रमुख प्रशासकीय अधिकृत विष्णुहरि तिमल्सिनाले जनाएका छन्। यसैगरी गाउँपालिकामा रहेका ६ वटा झोलुंगे पुल बगेका छन्। किउल–तिम्बु–अम्बाथाङ ५ किमि सडक पूर्ण रुपमा बाढीले बगाएको छ।
गाउँपालिकाका अनुसार वडा नम्बर को च्युरीखर्क, तिम्बु, हल्दे र अम्बाथानमा २६ घर बगाएको छ। १०० घरमा आंशिक क्षति पुगेको छ भने १२६ परिवारका ५६९ जना विस्थापित भएका छन्।
वडा नम्बर २ को पुरानो चनौटे बजार, मुक्तिटार, गणेशबगर र किउलमा गरी ४५ घर बगेका छन्। सोही वडामा ९७ घरमा क्षति पुगेको छ भने १४२ घरमा आंशिक क्षति पुगेको छ। यस्तै ६६० जना विस्थापित भएका छन्। वडा नम्बर २ किउलमा रहेको इलाका प्रहरी कार्यालयको नवनिर्मति भवन बाढीले बढाएको छ। वडा नम्बर ३ को सेराबेसी, गैरीबेसी, इसिड, पाल्चोक र तोरीश्वरमा गरी २२ घर बगाएको छ। २७ घरमा आंशिक क्षति भएको र १४९ जना विस्थापित भएको गाउँपालिकाको विज्ञप्तिमा उल्लेख छ।
गाउँपालिकाको वडा नम्बर ४ मा ११७ घरमा आंशिक क्षति पुगेको छ। सोही वडाको इस्ट प्वाइन्ट एकेडेमी बाढीले बगाएको छ। यस्तै वडा नम्बर ६ को चालिसेमा ८ घर बगाएको छ। १५ घरमा क्षति पुगेको छ भने २३ परिवारका १०८ जना विस्थापित भएका छन्। वडा नम्बर ७ को चालिसेमा ९ घर बगाएको र ३९ घरमा आंशिक क्षति भई ४८ घर परिवारका २३३ जना विस्थापित भएको गाउँपालिकाको विवरणमा उल्लेख छ। यस्तै ती क्षेत्रका आठ वटा ट्राउट फार्म बाढीले बगाएको छ।