काठमाडौं– आँखा रोग विशेषज्ञ डा. तेज्सु सिंह मल्लको अध्यक्षतामा लायन्स क्लब अफ काठमाडौं रेडिएन्स गठन भएको छ।
मेडिकल डाक्टरहरु रहने उक्त क्लब लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए २ अन्तर्गत खोलिएको स्पेसियालिटी क्लब हो। डा. मल्लका अनुसार यस क्लबमा बालरोग विशेषज्ञ डा. महेश गौतम प्रथम उपाध्यक्ष, बाल दन्तरोग विशेषज्ञ डा. स्नीधा मैनाली द्वितीय उपाध्यक्ष, हाडजोर्नी विशेषज्ञ डा. रुपेश शेरचन महासचिव र डा. रविन बस्नेत कोषाध्यक्ष चयन भएका छन्।
डिस्ट्रिक ३२५–ए २ का गभर्नर डा. सुशीला मल्लले यस वर्ष डिस्ट्रिक्ट अन्तर्गत खोलेको यो पचासौं क्लब भएको जानकारी दिइन्। क्लबमार्फत सबैले स्वास्थ्य तथा अन्य सेवाका साथै जनचेतनामूलक कार्यक्रमबाट समुदाय लाभान्वित हुने उनले विश्वास व्यक्त गरिन्।
लायन्सका पूर्व इन्टरनेशनल डाइरेक्टर तथा लायन इन्जिनियर सञ्जय खेतानले डिस्ट्रिक्ट ३२५–ए २ को चौथो क्याबिनेट मिटिङ तथा अवार्ड कार्यक्रममा जुममार्फत नवगठित क्लबको उद्घाटन गर्नुका साथै शुभकामना व्यक्त गरेका थिए।
अध्यक्ष डा. मल्ल अमेरिकास्थित युनिभर्सिटी अफ सान डिएगो, क्रक इन्स्टिच्युट अफ पिस एन्ड जस्टिस (आईपीजे) र काठमाडौंस्थित लिडरशीप एकेडेमीद्वारा सञ्चालित नेपाल इमर्जिङ लिडर्स प्रोग्राम (एनइएलपी) का प्रशिक्षार्थी पनि हुन्।