काठमाडौं- प्रहरीले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा निषेध आदेश उल्लंघन गर्ने झण्डै ३ हजार सवारी साधनलाई नियन्त्रणमा लिएको छ।
निषेध आदेश कार्यान्वयन गराउने क्रममा २ हजार ९१७ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएकामध्ये ८५० वटा गाडी र २ हजार ६७ वटा मोटरसाइकल छन्। नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको प्रहरीले जनाएको छ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेध आदेश उल्लंघन गर्नेमध्ये हालसम्म ३०३ जनालाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ३० हजार ३०० रुपैयाँ जरिवाना गरिएको छ।
प्रहरीका अनुसार २ हजार ८५२ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ। साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ६८ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ३ हजार ७ सय ६३ जनालाई सचेत गराइएको छ।
साथै नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा २२८ जनालाई निःशुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ। कार्यक्रम अन्तर्गत हालसम्म ४ लाख ५७ हजार २ सय ४८ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ।