काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सरकारले जनताको स्वास्थ्यमा गम्भीर हेलचेक्र्याइँ गरेको बताएका छन्। आइतबार आफ्नै निवासमा आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै नेता सिंहले सरकार कमिसनको खेलमा लागेका कारण कोरोनाविरुद्धको भ्यासिन समयमा ल्याउन नसकेको बताए।
उनले पहिलो डोज खोप लगाएका १४ लाख नागरिक दोस्रो डोजको पर्खाइमा रहेकाले तत्काल यसमा ध्यान दिन सरकारलाई आग्रह गरे। दोस्रो डोज खोप समयमा नै ल्याउन नसक्नुले सरकार कूटनीतिक रुपमा असफल भएको उनको दावी छ।
सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न भागमा वर्षाका कारण आएको बाढीपहिरोले जनजीवन कष्टकर बनाएकाले गम्भीरताका साथ राहतको पहल थाल्न उनले सरकारसँग अपिल गरे। देशभर बाढीपहिरोको मारमा परेका नागरिकको दुःखमा आ–आफ्नो ठाउँबाट साथ र सहयोग गर्न उनले सबैलाई आग्रह गरे।
नेता सिंहले पार्टीमा १४ औं महाधिवेशनको तयारी तीव्र रुपमा भइरहेकाले समयमा नै महाधिवेशन सम्पन्न हुने बताए। महाधिवेशन समयमा नै सम्पन्न गर्ने वातावरण निमार्ण गर्न र विधि प्रक्रिया अनुसार अगाडि बढ्न पार्टीका नेता कार्यकर्तालाई उनले आग्रह समेत गरे।