धनगढी- शनिबारदेखि महाकाली नदीमा आएको बाढीले पुलसम्म पुग्ने पहुँच मार्ग भत्काएको छ। नदी किनारदेखि पुलसम्म पुग्न बनाइएको पहँच मार्ग बाढीले भत्काएपछि सम्बन्ध बिच्छेद भएको हो। भीमदत्त नगरपालिकातर्फ बनिरहेको भागमा बाढीले पूर्ण रुपमा क्षति गरेको छ।
महाकाली नदीमा आएको बाढीले निर्माणाधिन महाकाली पुल आयोजनालाई ठूलो क्षति पुगाएको छ। पहुँच मार्ग बाढीले भत्काएपछि दुई करोड रुपैयाँ बराबरको क्षती भएको आयोजनाले जनाएको छ।
बाढीले पहुँच मार्गको ८० मिटर लम्बाई कटानी र ५० हजार घनमिटर ग्राभेल बगाएको महाकाली पुल निर्माण कम्पनी कुमार श्रेष्ठ निर्माण सेवा प्रालिका इन्जिनियर किशोर पाण्डेले बताए। नदीको जलस्तर नघटे ठूलो नोक्सानी हुने इन्जिनियर पाण्डेले बताए। 'दुई साताअघि आएको बाढीले कालोपत्रे गर्ने अस्फाल प्लान्ट बगाउँदा झण्डै चार करोडको नोक्सानी भएको थियो', इन्जिनियर पाण्डेले भने, ‘पहुँच मार्ग भत्काउँदा थप दुई करोड नोक्सानी भएको छ।’
पुल निर्माणको काम १० प्रतिशत मात्र बाँकी रहेको पाण्डेले बताए। 'पुल असोज महिना भित्रमा निर्माण सम्पन्न गर्ने योजना थियो। पहुँच मार्ग भत्काउँदा निर्माणमा थप समय लाग्छ,’ उनले भने। दुई स्ल्याब ढलानका लागि तयारी अवस्थामा रहेको र चार स्ल्याब तयार हुँदै गरेको उनले बताए।
पुल बाहेक दुवैतर्फ कुल ७.८ किलोमिटर ६ लेनको सडक, नदी किनारमा चार पोखरी र पोखरीको बिचमा ६ आइसल्यान्ड निर्माण हुँदै गरेको पाण्डेले बताए।
२०७४ भदौ ७ गते ६ लेनको सडक सहित महाकाली नदीमा नेपाल सरकारको लगानीमा ४ लेनको पुल निर्माण कार्य सुरु गरिएको थियो। ३ वर्षमा कार्य सम्पन्न गर्ने गरी कुमार निर्माण सेवाले निर्माण गर्न लागेको थियो। जग्गा मुआब्जा विवादका कारण आयोजनाको कार्यलाई डेढ वर्ष म्याद थप गरिएको थियो। ३ अर्ब ६७ करोडको लागतमा ठेक्का सम्झौता भएको हो।
दोधारा चाँदनीका १५ घर डुबानमा
महाकाली नदीमा पानीको बहाव बढेपछि दोधारा चाँदनी नगरपालिका–१० कुतियाकभर बैदीफाँटाका १५ घर डुबानमा परेका छन्।
महाकाली नदीमा आएको बाढीले जोगबुढा नदीको पानी थुनिँदा कुतियाकभरका बस्तीमा छरेर बस्ती डुबान भएको हो।
बाढी बस्तीमा पसेपछि स्थानीयहरुको सहयोगमा सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीले डुबानमा घर परिवार र पशुचौपाया सुरक्षित स्थानमा सारेको थियो।
'मानवीय क्षति भएको छैन', सशस्त्र प्रहरी बल शैलेश्वरी सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्रबहादुर ऐरले भने, 'घर डुबान भएको खबर पाउने बित्तिकै टोली परिचालन गरेर उनीहरूलाई सुरक्षित स्थानमा सारेका छौं।’
भीमदत्त नगरपालिका–१२ ऐरीमा बाढीले घर डुबान भएपछि ६ परिवारलाई उद्धार गरेर वडा कार्यालयमा राखिएको प्रहरीले जनाएको छ।
पहाडी क्षेत्रमा पानी पर्ने क्रम रोकिएपछि महाकाली नदीको बहाव घट्दो क्रममा छ। बिहान ६ बजेको मापन अनुसार पानीको बहाव २ लाख १६ हजार क्यूसेक रहेको छ। राति २ बजे पानीको बहाव दुई लाख ४६ हजार क्यूसेकसम्म पुगेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ।