धनगढी- डडेल्धुराको परशुराम नगरपालिका-९, हल्द्वानीमा मृत फेला परेकी युवतीको घटना अनुसन्धानका लागि दुई प्रहरी टोली परिचालन भएको छ।
शनिबार परशुराम नगरपालिका-८, जमरानी आधारभूत स्वास्थ्य एकाइ केन्द्रमा कार्यरत २६ वर्षीया अस्मितादेवी धामी मृत भेटिएकी थिइन्। सो घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले संघीय प्रहरी इकाइ कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली खटाइएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्र थापाले घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालयका प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीको नेतृत्वमा र सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूहका प्रहरी नायव निरीक्षक पदम थापाको नेतृत्वमा छुट्टाछुट्टै टोली परिचालन गरिएको बताए।
असार २ गते कोरोनाको बचत खोप र स्वास्थ्य सामग्री पुर्याउन जोगबुढा अस्पताल जाने क्रममा बेपत्ता भएकी थिइन्। घटनास्थलको मुचुल्का उठाउने काम सकेर शव परीक्षणका लागि जोगबुढा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए।
‘मृतकको शरीरमा बाहिरी देखिने चोटपटक देखिएको छैन,’ प्रहरी नायव उपरीक्षक नेपालले भने, ‘हत्याको आशंकामा अनुसन्धान अगाडि बढाइएको छ। शव परीक्षणको रिपोर्ट प्राप्त भएपछि अनुसन्धानमा सहयोग पुग्छ।’