सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मोरङमा एक दशकमा १७ हजार घरपरिवार प्रभावित, विपद् पूर्वतयारी कार्ययोजना बनाइँदै

मोरङमा एक दशकमा १७ हजार घरपरिवार प्रभावित, विपद् पूर्वतयारी कार्ययोजना बनाइँदै

मोरङमा विपद् पूर्वतयारी कार्ययोजना जारी गर्ने तयारी गरिएको छ।
 |  आइतबार, असार ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार ६, २०७८

विराटनगर- मोरङमा विपद् पूर्वतयारी कार्ययोजना जारी गर्ने तयारी गरिएको छ। अघिल्ला वर्षहरूमा जोखिम मानिएका क्षेत्रमा यो वर्ष पनि उत्तिकै जोखिमको सूचीमा राखेर जिल्ला विपद् व्यवस्थापन समिति मोरङले पूर्वतयारी तथा प्रतिकार्य योजना–२०७८ जारी गर्ने तयारी गरेको हो।

मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले कोरोना संक्रमणका कारण स्थानीय तहमा स्वयम्सेवक टोली तयार पार्ने योजना सफल हुन नसके पनि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई तयारी अवस्थामा राखिएको बताए। 

कोरोनाका कारण त्यो सम्भव नभएपछि जिल्लाभर नेपाली सेनाका १२५ जना, सशस्त्र प्रहरी बलका दुईवटा गण र नेपाल प्रहरीको इलाका प्रहरी कार्यालयस्तरमा उद्धारको टोली तयारी अवस्थामा राखिएको निरौलाले बताए। 

जिल्ला प्रशासन कार्यालय मोरङले उद्धारका लागि आवश्यक पर्ने दुईवटा रबर बोटसहितका सामग्री खरिद गरिसकेको प्रजिअ निरौलाले जानकारी दिए। पालिकास्तरमा समेत विपद् प्रतिकार्य समिति तथा कोष स्थापना र सञ्चालन कार्यविधिहरू तयार पारिसकिएको छ। 

मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले सबै इलाका प्रहरी कार्यालयहरूमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार उद्धार तथा व्यवस्थापनका कामहरू भइरहेको बताए। जोखिम मानिएका क्षेत्रहरूमा उद्धारपछिको वासस्थान व्यवस्थापनका लागि आवश्यक संरचनाको सूचना संकलन गर्ने काम सकिएको एसपी खड्काले जानकारी दिए। 

१० वर्षमा १७ हजार घरपरिवार प्रभावित

पछिल्लो १० वर्षमा मोरङमा १७ हजार बढी घरपरिवार बाढी तथा डुबानबाट प्रभावित बनेका छन्। २०६६ सालदेखि २०७७ सालसम्ममा १७ हजार २८ घरपरिवार बाढी तथा डुबानबाट प्रभावित भइसकेका छन्। 

गत वर्ष मात्रै मोरङमा बाढी तथा डुबानमा परेर ४५ जनाको मृत्यु भएको थियो। प्रभावित परिवारको संख्या १४३ भए पनि तीन करोड ३८ लाख १६ हजार मूल्य बराबरको आर्थिक क्षति भएको थियो। 

अघिल्लो वर्ष २०७६ मा जिल्लाभर चार हजार ३६१ घरधुरी प्रभावित भएको तथ्यांक छ। बर्सेनि धनजनको क्षति पुर्‍याउनेमा बाढी तथा डुबान पहिलोस्तरको प्रकोपको रूपमा पर्दछ। भूकम्पबाहेक जिल्लामा सूचीकृत १२ प्रकारका प्रकोपमध्ये बाढी तथा डुबानले बर्सेनि सबैभन्दा बढी धनजनको नोक्सानी गर्दै आएको हो। 

मोरङमा १० वटा खोला तथा नदीले बढी क्षति पुर्‍याउँदै आएको छ। बुढी÷केशलिया, सिंघिया, लोहन्द्रा, चिसाङ, डाँस÷मरिया बक्राहा, रतुवा, मावा, बक्राहा, तेली, सुकुना, कयरखोलाले बर्सेनि क्षति पुर्‍याउने गरेको हो। 

यस्तै विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि प्रदेश सरकारले आवश्यक तयारी अन्तिम चरणमा पुर्‍याएको छ। कार्ययोजनालाई अन्तिम रूप दिन कार्यदल गठन गरेर अन्तिम रूप दिन लागिएको आन्तरिक तथा कानुन मन्त्रालयका प्रवक्ता कमलबहादुर थापाले जानकारी दिए। 

प्रदेश सरकारले एक करोड रूपैयाँको उद्धार प्रयोजानार्थ प्रयोग गरिने सामग्रीहरू खरिद गरेको प्रवक्ता थापाको भनाइ छ। 

प्रकाशित: Jun 20, 2021| 01:23 आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।