काठमाडौं- अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म १७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा १० जना पुरुष, ४ जना महिला, २ जना बालक र १ जना बालिका रहेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ।
सिन्धुपाल्चोकमा ३ जना, डोटीमा ३ जना, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, बाजुरा, बझाङ र प्युठानमा १/१ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
बाढीपहिरो र डुबानमा परी १७ जना घाइते भएका छन्। तीमध्ये १० जना पुरुष, ४ जना महिला, १ जना बालक र २ जना बालिका छन्। उनीहरुमध्ये सिन्धुपाल्चोकमा ५ जना, म्याग्दी र डोटीमा ३/३ जना, जुम्लामा २ जना, कास्की, स्याङजा, चितवन र सल्यानमा १/१ जना रहेका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ।
बाढीपहिरोमा परी २२ जना बेपत्ता भएका छन्। तीमध्ये १५ जना पुरुष, ५ जना महिला र २ जना बालक छन्। उनीहरुमध्ये सिन्धुपाल्चोकमा २१ जना र बाजुरामा १ जना रहेका छन्। बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
बाढीपहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ जना, सल्यानमा ८ जना, दाङमा ४ जना र कञ्चनपुरमा ३ जना गरी १ सय ९ जनाको उद्धार गरिएको छ। उनीहरुलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ।