काठमाडौं- डिल्लीबजार सडकमा पार्किङ गरिएको साता बितेको छ। बालकृष्ण श्रेष्ठको ट्याक्सी जहाँको तहीं छ। निषेध आदेशका कारण बजार र यातायातका साधन बन्द छन्। उनको ट्याक्सी लिएर काठमाडौंका गल्लीगल्ली फन्का नलगाएकोे धेरै समय भयो।
आशाका ढोकाचाहिँ खुलै छन्। जसको उदाहरण हो उनी धेरै दिनदेखि धैर्य गरिरहेका छन्। ट्याक्सीमा मोबाइल नम्बरसमेत टाँसेका छन्। त्यसमा लेखिएको छ, ट्याक्सी चाहिएमा ९८४३७३५... मा सम्पर्क गर्नुहोला। यसले पनि उनी कुनै न कुनै दिन यात्रु पाउने आसमा छन्।
अघिल्लो शनिबार उनले पाँच दिनपछि मेडिसिटी अस्पतालसम्म एक ट्रिप पाएका थिए। मेडिसिटी आउजाउ गर्दा १ हजार रुपैयाँ कमाए। केही दिनका तरकारी किने। उनी भन्छन्, ‘नौ जनाको परिवार छ। केही छाक तरकारी खाँदा सकियो। अब हजार कमाउन कति दिन मोबाइल हेरेर बस्नुपर्ने हो थाहा छैन।’
डिल्लीबजारमा मासिक १३ हजार भाडा तिरेर बसेको छ उनको परिवार। ठूलो परिवार भएकाले फ्ल्याट नै लिएको उनी बताउँछन्।
लामोे समयदेखिको निषेध आदेशको प्रत्यक्ष असर यातायात व्यवसायीमा परेकोे छ। बालकृष्ण भन्छन्, ‘ट्याक्सी बन्द हुँदा खान त पुग्दैन, बैंकको किस्ता र घरभाडा कसरी तिर्नु? यस्तोे हो भने त कसरी बाँच्नु? बाँचेर पनि भित्रभित्रै मरिरहेको छु म त।’ उनलाई एकातिर घर खर्चको पीर छ भने अर्कोतिर बढ्दै जाने ऋणको।
उनले ट्याक्सी चलाउन थालेको १७–१८ वर्ष भएछ। बुढेसकालसम्म गर्न सकिने काम भनेर ट्याक्सी व्यवसाय रोजेका हुन् उनले। ५–७ वर्ष साहुको ट्याक्सी चलाए। साहुको ट्याक्सी चलाउँदा फाइदा नभएपछि अहिले आफैंले किनेकाे उनी बताउँछन्।
ट्याक्सी किन्न लिएको ऋणको ब्याज र किस्ताले उनलाई निकै सताएको छ। ‘खाने गुजरा मात्रै गर्नुपर्ने भए त्यति मारमा पर्ने थिइनँ होला। एकातिर फाइनान्सको किस्ता तिर्नुपर्छ अर्कोतिर घरभाडा’, उनी भन्छन्। ट्याक्सी थन्किए भोकै पो बस्नुपर्ने होे कि चिन्ता छ उनलाई।
उनले ट्याक्सी चलाउन थालेको १७–१८ वर्ष भएछ। बुढेसकालसम्म गर्न सकिने काम भनेर ट्याक्सी व्यवसाय रोजेका हुन् उनले। ५–७ वर्ष साहुको ट्याक्सी चलाए। साहुको ट्याक्सी चलाउँदा फाइदा नभएपछि अहिले आफैंले किनेकाे उनी बताउँछन्। पाँच वर्षअघि उनले मारुती ट्याक्सी किनेका थिए। बिस्तारै सुविधा बढी भएका अल्टो ट्याक्सी भित्रिन थाले। उनकोे ट्याक्सी पुरानो मोडलको थियो। यात्रु आउन छाडे अनि पुरानो ट्याक्सी १० लाखमा बेचे। बाँकी रकम जुटाउन विभिन्न फाइनान्स कम्पनी चहारे। अन्तिममा नरदेवी फाइनान्सबाट १६ प्रतिशत ब्याजदरमा १० लाख रुपैयाँ ऋण लिए। थप दुईतीन लाख आफन्तबाट जुटाएको उनी बताउँछन्।
फाइनान्सको किस्ताबापत श्रेष्ठले मासिक ३० हजार बुझाउनुपर्छ। उनी भन्छन्, ‘दुई छाक टार्न गाह्रो भइरहेका बेला कसरी किस्ता तिर्नु?’
बैंकले ऋण दिन आनाकानी गरेपछि फाइनान्सबाट लिनुपर्दा महँगोमा परेकोे उनको गुनासोे छ। उनी भन्छन्, ‘किनेपछि झन् समस्या भयो, ट्याक्सी थन्किँदा परिवारै भोकै पर्ने भयो।
बालकृष्णको परिवारमा कमाउने उनी मात्रै हुन्। जेठो छोेराले पनि साहुको ट्याक्सी चलाउँथे। तर महामारीका बेला घाटा लाग्ने भएपछि उनी त्यत्तिकै घरमा बसेका छन्। साहुकोे ट्याक्सी चलाउँदा दैनिक १५ सय रुपैयाँ बुझाउनपर्छ। तेल खर्च आफ्नै पर्छ। यात्रु नपाइने हुँदा साहुकोे ट्याक्सी चलाउन छाडेको श्रेष्ठ बताउँछन्। खानाबाहेक मासिक ४० हजारभन्दा बढी खर्च हुन्छ।
काेराेना संक्रमणका कारण काठमाडौंका १० र पोखराका चार गरी १४ जना ट्याक्सी चालकले ज्यान गुमाएका छन्।
बालकृष्णले दुई महिनाको घरभाडा तिर्न बाँकी छ। घरबेटी भाडा माग्न आउँदा कमाइ भएपछि दिन्छु भन्दै पन्छिरहेका छन्। ‘घरबेटीलाई निषेध आदेश खुलेपछि भाडा दिन्छु भनिरहेकोे छु तर कहिले खुल्ने अत्तोपत्तो छै्रन’, उनी भन्छन्। गत वर्षको लकडाउमा पनि निकै समस्या झेलेको बताउँछन् श्रेष्ठ। उनी भन्छन्, ‘स्थिति सामान्य हुँदै थियो फेरि बिचल्ली पार्यो।’
त्यसो त उनलाई काठमाडौं छाड्न मन छ। तर रामेछापमा भएको जग्गाजमिनले चार महिनाका लाागि खान पुग्दैन। ‘गाउँमा जति काम गरे पनि खान पुग्दैन। त्यसैले काठमाडौं नछाडेको हु’, बालकृष्णले भने, ‘गरिखानेलाई जहिल्यै समस्या, जहिल्यै पिरलो।’ बाल्यकालमा धेरै पढ्न नसकेपछि साथीभाइसँग २०४० सालमा उनले गाउँ छाडेका रहेछन्। काठमाडौंमा छिरेपछि बाँच्नका लागि धेरै संघर्ष गरेको उनी सम्झछन्। उनी भन्छन्, ‘कहिले भारी बोक्ने कहिले ज्यालामजदुरी त कहिले गाडीमा सहचालकको काम पनि गरें।’ परिवार यतै जोडे। सन्तान पनि काठमाडौंमै जन्मिए। अनि उनले पेसा परिवर्तन गर्दै गुजारा चलाइरहे। सडक आन्दोलनका क्रममा कहिलेकहीं व्यवसायमा अवरोध भए पनि गत वर्ष र यस वर्षको जस्तो सास्ती उनले कहिल्यै नपाएको बताउँछन्।
नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजमा महासचिव पूर्णलाल मोक्तानका अनुसार देशभर करिब १५ हजार ट्याक्सी सञ्चालनमा छन्। ट्याक्सी व्यवसायमा करिब २२ अर्ब ५० करोड लगानी छ।
‘ऋणको भारी लिएर कसरी बाँच्नु? रोग र भोक एकातिर ऋणको भारी अर्कोतिर’ बालकृष्णले भने। उनी सरकारले यातायात व्यवसायीका लागि राहतकोे व्यवस्था नगरेको गुनासोे गर्छन्। उनी भन्छन्, ‘गरीखानेलाई सहुलियतमा ऋण दिनु त परको कुरा सरकारले राहतसम्म दिन्छु भनेन।’ अस्पतालमा यात्रु पाउने आस हुन्छ। तर कहिलकाहीं प्रहरीले दिनभर होल्डमा राखिदिँदा सबै सपना चकनाचुर हुन्छ। बालकृष्ण प्रतिनिधि पात्र मात्रै हुन् उनीजस्ता हजारौं सर्वसाधारण तथा ट्याक्सी व्यवसायीे संकटमा छन्।
नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजमा महासचिव पूर्णलाल मोक्तानका अनुसार देशभर करिब १५ हजार ट्याक्सी सञ्चालनमा छन्। ट्याक्सी व्यवसायमा करिब २२ अर्ब ५० करोड लगानी छ। सानो र स्वरोजगारमूलक व्यवसाय ठप्प हुँदा धेरैको रोजीरोटी गुम्न लागेको उनको भनाइ छ।
उनी भन्छन्, ‘महामारीले ट्याक्सी चालकलाई निकै मारमा पारेको छ, एकातिर बैंकको किस्ता तिर्नुपर्छ अर्कोतिर घरभाडा।’ महामारीका बेला बिरामी र संक्रमितलाई अस्पतालसम्म लैजाने महत्त्वपूर्ण काम गरे पनि राज्यले ट्याक्सी व्यवसायीका लागि कुनै राहत प्याकेजको व्यवस्था नगरेको उनको गुनासो छ।
काेराेना संक्रमणका कारण काठमाडौंका १० र पोखराका चार गरी १४ जना ट्याक्सी चालकले ज्यान गुमाएको उनले बताए।