काठमाडौं– मेलम्चीमा नदीमा पानीको बहाव फेरि बढेको छ। शुक्रबार राति पानीको बहाव बढेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए।
हेलम्बु क्षेत्रमा अविरल वर्षाका कारण मेलम्चीमा पानीको सतह बढेको उनको भनाइ छ। बाढीले हेलम्बु गाउँपालिकामा पर्ने ग्याल्थुममा रहेको इस्ट प्वाइन्ट एकेडेमी मेलम्ची नदीमा आएको बाढीले बगाएको स्थानीय भीम लामिछानेले जानकारी दिएका छन्।
यस्तै ग्यालथुम बजारमा पनि थप क्षति भएको छ भने चनौटेस्थित रातोपुल पनि जोखिममा परेको लामिछानेले बताए। असार १ गते मेलम्ची नदीमा आएको बाढीले मेलम्ची बजार खण्डहरमा परिणत भएको छ भने अर्बौंको क्षति भएको छ। बाढी आएर स्थानीय बासिन्दा घरबारविहीन भए पनि उचित राहत नपाएको भन्दै जनप्रतिनिधिको आलोचना हुन थालेको छ।