काठमाडौं– नेकपा माओवादी केन्द्रले स्थानीय तहका जनप्रतिनिधिहरुले दल त्याग गरेको सूचना प्रकाशित गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।
माओवादी नेताहरु लिलामणि पोखरेल, दिनानाथ शर्मा र मुक्ति प्रधान आयोग पुगेर आज उक्त ध्यानाकर्षण गराएका हुन्।
‘हामीले माओवादी केन्द्रबाट स्थानीय तहमा जितेका र अहिले आएर दल त्याग गरेका र पार्टी विरोधी गतिविधि गरेकालाई कारबाही गरेको पत्र आयोगमा बुझाएका थियौं,’ स्थायी कमिटी सदस्य पोखरेलले भने,‘अभिलेखीकरण गरेर अहिलेसम्म आयोगले सूचना सार्वजनिक नगरेपछि ध्यानाकर्षण गराएका हौं।’
ध्यानाकर्षण गराउन पुगेका माओवादी नेताहरुलाई आयोगले कारबाहीका लागि केन्द्रीय कमिटीको निर्णय आवश्यक पर्ने बताएको थियो ।
‘केन्द्रीय कमिटीबाट कारबाही भएको निर्णय आवश्यक हुन्छ भनेर उहाँहरुले भन्नुभयो,’ पोखरेलले भने,‘हामीले त्यो अधिकार पार्टी अध्यक्षलाई केन्द्रीय कमिटीले दिएको भन्यौं। त्यसपछि आयोगका पदाधिकारीहरुले आवश्यक निर्णय गर्छौं भन्नुभयो।’
नेकपा माओवादी केन्द्रले १७ जनालाई कारबाही गरेको पत्र यसअघि नै आयोगमा बुझाइसकेको थियो।