काठमाडौं– कोरोना भाइरसविरुद्ध पहिलो डोज खोप लगाएका तर दोस्रो डोज नपाएका नेपालका १४ लाख नागरिक जोखिममा परेको एम्नेस्टी इन्टरनेसनले बताएको छ।
शुक्रबार सार्वजनिक अपिल जारी गर्दै एम्नेस्टीको नेपाल कार्यालयले दोस्रो डोजको कोरोना खोप नपाएकाले १४ लाख नागरिकको जीवन जोखिममा परेको र कोरोना भाइरस नियन्त्रणमा चुनौती हुने भन्दै चिन्ता व्यक्त गरेको हो।
नेपाललाई तत्काल भ्याक्सिन उपलब्ध गराएर खतरामा परेका नेपाली नागरिकको जीवन बचाउनका लागि भूमिका खेल्न पनि एम्नेस्टीले धनी र खोप भण्डार गरी राखेका देशहरूसँग आग्रह गरेको छ। ‘विशेषगरी बेलायत जस्ता ठूलो मात्रामा खोप भण्डारण गरेका धनी देशसहित अन्तर्राष्ट्रिय समुदायले तत्काल नेपाललाई पर्याप्त खोप दिए १४ लाख नागरिकलाई खतरामुक्त गर्न सकिन्छ,’ एम्नेस्टीको अपिलमा भनिएको छ।
सरकारले ६५ वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई गत वर्ष फागुन अन्तिम र चैत पहिलो साता भारतीय कम्पनी सेरमले उपलब्ध गराएको कोभिसिल्ड भ्याक्सिन लगाइदिएको थियो। नियमानुसार उनीहरूले दोस्रो डोज १२ हप्ताभित्रमा लगाइसक्नुपर्ने थियो।
तर तत्काल खोप ल्याउन नसकिएको उल्लेख गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ अन्तमा पहिलो डोज लगाएको १६ साताभित्र दोस्रो डोज लगाउन सकिने सूचना जारी गर्यो। पहिलो डोज लगाइएको १६ साता बित्न अब बढीमा १० दिन मात्र बाँकी भएको तर खोप ल्याउने र ज्येष्ठ नागरिकहरूलाई लगाइदिन विषयमा सरकारले चासो नदेखाएपछि एम्नेस्टीले १४ लाख मानिसमा जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरेको हो।
अन्तर्राष्ट्रिय समुदाय नेपाललाई खोप दिन तयार हुँदाहुँदै पनि नागरिकहरूको जीवनरक्षाका लागि चासो नदेखाएको भन्दै सरकारको आलोचना भइरहेको छ। सरकारले भने १० लाख डोज कोभिसिल्ड खोप किन्नका भारतीय कम्पनी सेरमलाई रकम भुक्तानी गरिएपनि उसले खोप नदिएको दाबी गर्दै आएको छ। कोभिसिल्ड खोप नआउने भएपछि सरकारले अन्य विकल्प खोज्ने भनिसकेको पनि छ। पहिलो डोज कोभिसिल्ड लगाएका व्यक्तिले दोस्रो डोजमा अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको आस्ट्राजेनेका खोप लगाउँदा कुनै असर नगर्ने स्वास्थ्य मन्त्रालयको भनाइ छ। तर भ्याक्सिन उपलब्ध हुने मिति अनिश्चित बन्दा नागरिकमा भने चिन्ता बढेको छ।