सोमबार, भदौ ८, २०८३

सेती नदीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह

लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको बहाव बढेको छ।
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

डोटी- लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको बहाव बढेको छ। बहाव बढेकाले नदी आसपासका वस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई आग्रह गरेको छ। 

डोटीको गोपघाट र दिपायलमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ। सेती नदीमा गरिएको पानीको बहाव मापनअनुसार ८.४ क्युसेक पुगेको छ। यो ‘वार्निङ प्वाइन्ट’ भन्दा माथि हो।

केन्द्रका अनुसार ३.५ क्युसेक बाढीको बहाव हुँदा नदीमा बाढीको बढी खतरा हुने गर्दछ। नदीले यहाँका धान रोपेका खेतमा कटान गरी बगाउन थालेको छ। 

सेती नदी आसपासका बस्ती बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा, भागेतडा, कैलडा तथा नारीदाङका स्थानीयवासीलाई विशेषगरी रातिको समयमा सचेत रहन प्रहरी प्रशासनले आग्रह गरेको छ। 

त्यसैगरी नदीमा पानीको बहाव बढ्न थालेसँगै इलाका प्रहरी कार्यालय दिपायल, प्रहरी चौकी तिल्तालीको टोलीले नागरिकलाई नदी क्षेत्रमा नजान तथा सचेत रहन माइकिङ गरिरहेको छ।

सेतीमा पानीको बहाव बढेकाले नदी आसपासका नागरिकलाई सुरक्षित रहन र नदीमा माछा मार्दै आएका नागरिकलाई केही दिन नदीमा नजानसमेत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए। 

लगातारको वर्षाका कारण बाढीपहिरो आउने खतरा बढेकाले प्रजिअ खनालले विपद् व्यवस्थापनमा जुट्नका लागि जिल्लाका तीनवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई ‘हाइअलर्ट’ मा बस्न निर्देशनसमेत दिएका छन्। 

विपद् तथा नदीबाट हुने खतराबाट जोगिन प्रशासनले चौबीसै घण्टा सुरक्षाकर्मीलाई ती क्षेत्रमा अनुगमन गर्न निर्देशनसमेत दिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ। जिल्लामा लगातार वर्षा भइरहे पनि अन्य साना नदीमा पानीको बहाव सामान्य अवस्थामै रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले जानकारी दिए। 

वर्षाकै कारण यहाँका विभिन्न ठाउँमा पहिरो गएको छ भने एक दजर्नभन्दा बढी ग्रामीण सडक अवरुद्ध भएका छन्। वर्षा सुरु भएसँगै जिल्लाको ग्रामीण भेगका अधिकांश सडक अहिले सवारीसाधन गुड्न नसक्ने अवस्थाका भएका छन्। 

वर्षाले हिलाम्मे भएका यस्ता सडकमा सवारीसाधन गुड्न बन्द भएसँगै सदरमुकाम कोही बिरामी परे पनि सदरमुकामका अस्पतालसम्म लैजान सक्ने अवस्था नरहेको र सदरमुकामसँग गाउँघरको सम्पर्कसमेत विच्छेद हुन थालेको जोरायल गाउँपालिका–५ का पूर्णबहादुर विष्टले जानकारी दिए। 

उता जिल्लाको जोरायल तथा बिपीनगरमा रहेको ठूलीगाडमा समेत पानीको सतह निकै बढेकाले सतर्क रहन आग्रह गरिएको जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए। 

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार हालसम्म पहिरोका कारण जिल्लामा एक जनाको ज्यान गइसकेको छ भने दुई बालिका घाइते भएका छन्। रासस

प्रकाशित: Jun 18, 2021| 04:34 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।