पर्सा- दोस्रो भेरियन्टको महामारी चलिरहँदा वीरगंज महानगरपालिका-१४, रानिघाटस्थित गुप्ता परिवारमा पनि ठूलै विपत्ति आइपर्यो। सधैँ असहायलाई सहयोग गर्दै आइरहेकी ७७ वर्षीया ज्ञानुदेवी कलवारलाई समेत कोरोना संक्रमणले छाडेन।
नेसनल मेडिकल कलेजमा भर्ना भएकी ज्ञानुदेवीको उपचारका क्रममा वैशाख १७ मा मृत्यु भयो। शोकमा रहेका उनका छोराहरूले आमाको सम्झनामा केही भए पनि गर्ने सोच बनाए।
तीन सन्तान रहेका ज्ञानुदेवीका छोराहरू विनोद गुप्ता अमेरिका, श्याम र सनोज गुप्ता वीरगंजमै छन्।
आमा भर्ना भएका बेला खाना तथा औषधि पुर्याउन जाँदा विभिन्न सडक पेटीमा रिक्सा चालकदेखि गरिब भोकाहरूको स्थिति देखेर उनीहरू त्यसै बस्न सकेनन्। उनीहरूले जेठ १ देखि निःशुल्क खाना खुवाउने अभियान सुरू गरे।

अमेरिकामा रहेका बिनोदले खानाका लागि चाहिने रकम पठाएका थिए। सनोजले भने, ‘हामी दुवै दाजुभाइ खाना पकाउनेदेखि लाग्ने सरसमान र भोका तथा असहाय परिवारलाई पहिचान गर्ने र खुवाउने काम गर्यौँ।’ यस कार्यमा स्थानीय युवाहरूले समेत साथ दिएको उनी बताउँछन्।
सरकारले निशेध आदेश खुकुलो पारे पनि सामान्य परिवारका व्यक्तिहरू अझैसम्म आफ्नो दैनिकी काम गर्न नपाएकाले निःशुल्क खाना वितरण बन्द गर्दा अफ्ठ्यारो हुने हुँदा हालसम्म खाना खुवाउने अभियान जारी राखेको उनको भनाइ छ।