काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिने भएका छन्।
शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री नेपालीले विश्वासको मत लिन लागेको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए।
संविधानमा मुख्यमन्त्रीले शपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुरुप मुख्यमन्त्री पोखरेलले नियुक्त भएको एक सातामै विश्वासको मत लिन लागेका हुन्।
विश्वासको मत लिनु दुई दिन अघि प्रदेशसभामा जानकारी गराउनुपर्ने व्यवस्था छ। सोही अनुसार पोखरेलले बुधबार नै प्रदेशसभा सचिवालयमा गराइसकेको प्रवक्ता खड्काले बताए।
प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १ सय ६८ को ५ बमोजिम जेठ २९ मा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्। मुख्यमन्त्री पोखरेललाई उनको दल नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एकजना स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन छ।
बिहीबार मनाङका बाढी पीडितको अवस्था बुझ्न पुगेका उनी मौसम खरावका कारण फर्किन सकेका थिएनन्। मुख्यमन्त्री पोखरेल शुक्रबार बिहानै पोखरा फर्किसकेका छन्।