सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनी प्रदेश : झरी रोकिएपछि विभिन्न ठाउँका सडक सञ्चालनमा

लुम्बिनी प्रदेश : झरी रोकिएपछि विभिन्न ठाउँका सडक सञ्चालनमा

लगातारको बर्षाका कारण अवरुद्ध भएका लुम्बिनी प्रदेशका अधिकांश सडक खुलेका छन्।
 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

बुटवल- लगातारको बर्षाका कारण अवरुद्ध भएका लुम्बिनी प्रदेशका अधिकांश सडक खुलेका छन्। बिहीबार बिहानदेखि बर्षा विस्तारै कम भएपछि पूर्वपश्चिम राजमार्ग, सिद्धार्थ राजमार्ग र जिल्ला सदरमुकाम जोड्ने सडकहरु खुल्न थालेका हुन्। पहिरो खसेर बन्द भएको बुटवल-पाल्पा सडक एकतर्फी सञ्चालनमा आएको छ।

दर्जनौं ठाउँमा पहिरो जाँदा सिद्धार्थ राजमार्ग तीन दिनदेखि अवरुद्ध थियो। सडक विभागले पहिरो हटाएसँगै दिउँसोदेखि बुटवल–पाल्पा सडक एकतर्फी सञ्चालनमा आएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए। पाल्पा तानसेन गौडेपुलमा पहिरोले ५० मिटर सडक नै बगाएको थियो।

लुम्बिनी प्रदेशका अन्य पहाडी जिल्ला जोड्ने सडकसमेत बिहीबार अपरान्हदेखि सञ्चालनमा आएका छन्। बर्षाका कारण अवरुद्ध भएको गोरुसिंगे-सन्धिखर्क सडक, प्यूठान-भालुवाङ सडक र गुल्मी रिडी-तम्घास सडक पनि सुचारु भएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ सडक भने अझै सुचारु भएको छैन। बुटवल र देवहद नगरपालिकाको सीमा क्षेत्रमा निर्माणधीन कल्वर्टका लागि बनाइएको डाइभर्सन बाढीले बगाएपछि सवारी साधन आवतजावत पूर्ण रुपमा बन्द छ। डाइभर्सन मर्मतको काम भइरहेकाले साँझसम्म सञ्चालनमा आउनसक्ने प्रहरी नायव उपरीक्षक पाण्डेले बताए।
निर्माणधीन पक्की पुल भत्कियो

झिमरुकु नदीमा आएको बाढीले प्युठान र अर्घाखाँची जोड्ने पक्की पुल भत्काएको छ। प्यूठानको ऐरावती गाउँपालिका–१ माझीदमार र अर्घाखाँचीको शितगंगा नगरपालिका–७ चिउरेखोला जोड्ने निर्माणाधीन पक्कीपुल भत्किएको हो। मोटरेबल पुल चार दिनअगाडि मात्रै ढलान भएको थियो।

कपिलबस्तुका डुबान क्षेत्रमा अनुगमन

कपिलवस्तुका डुबान क्षेत्रमा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायको टोलीले स्थलगत अध्ययन गरेको छ। प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे र प्रहरी उपरिक्षक नवराज अधिकारीसहित सुरक्षा निकायको टोलीले महली सागर बाँध र बजहाँ बाँधका कारण डुबान भएको क्षेत्रको अवलोकन गरेको हो।

दुई वर्षयता मायादेवी गाँउपालिकाको वडा नम्बर ४ डुबानमा पर्दै आएको छ। बजहाँ बाधको नेपाली भागतर्फ माछा पालनको ठेक्का दिएको र ठेकेदारले माछा भाग्ने भन्दै समयमै बाँधको ढोका नखोल्दा आफूहरु डुबानमा परेको स्थानीयले गुनासो गरेका छन्।

नेपाल-भारत सीमामा बनाइएको बाँधका कारण हरेक वर्षको बर्षायाममा नेपाली खेतीयोग्य भूभाग डुबानमा पर्ने गरेको छ। समयमै बजहाँ तालको ढोका नखोलिँदा विगतका वर्षमा मायादेवी गाउँपालिका वडा नम्बर ४ पिपराको तुलसीडिहवा गाउँ नजिकको २०० बिगाहा धानखेत डुबानमा पर्दै आएको थियो। भारतले बनाएको २७ ढोके बाँधका ढोका नखोल्दा नेपाली भूभाग डुबानमा परेको स्थानियको गुनासो छ।

प्रकाशित: Jun 17, 2021| 14:30 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।