सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ : डुबेर एक वर्षमा १८६ जनाको मृत्यु, मृत्यु हुनेमा अधिकांश बालबालिका

प्रदेश २ : डुबेर एक वर्षमा १८६ जनाको मृत्यु, मृत्यु हुनेमा अधिकांश बालबालिका

पछिल्लो समय धनुषामा मात्र नभई प्रदेश २ का सबै जिल्लामा पोखरी, तलाउ, खाल्डोमा जमेको पानीमा डुबेर बालबालिकासहित कयौंले ज्यान गुमाएका छन्।
 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

जनकपुरधाम- गत शुक्रबार धनुषाको मुखियापट्टी मुसहरनियामा पोखरीका लागि खनिएको खाल्डोमा डुबेर ५ बालिकाको मृत्यु भयो। निर्माणाधीन पोखरीमा नुहाउन खोज्दा डुबेर पाँचै बालिकाको मृत्युु भएको थियो। 

पोखरीमा डुबेर मृत्यु हुने सबै बालिकाको उमेर १० देखि १३ वर्षसम्म थियो। मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर ६ मा हुलास यादव र दिनेश यादवको खेतको बीचमा खन्न लागिएको पोखरीमा डिलसमेत बनाइएको थिएन। हुलास पोखरी खनाउन चाहन्थे भने दिनेश पोखरी नबनाउने पक्षमा थिए। 

यी दुई भाइबीचको विवादका कारण मत्स्य पालनको उद्देश्यले खन्न लागिएको पोखरीको काम बीचमै रोकिएको थियो। डील नरहेको पोखरी १२ फिट गहिरो थियो तर छेकबारसम्म लगाइएको थिएन।

बाख्रा चराउन गएका ती बालिकाहरु गर्मी छल्नका लागि पोखरीमा हाम फाले तर बाहिर निस्कन सकेनन्।
यस घटनाको विषयमा धनुषा प्रहरीले छानबिनसमेत गरिरहेको छ। प्रहरी उपरीक्षक प्रकाश रानाभाटले घटनामा पीडित परिवारबाट कुनै निवेदन नआएकाले पोखरी मालिकलाई अहिलेसम्म पक्राउ नगरिएको बताए। उनले भने, ‘पोखरीमा डुबेर ५ जनाको मृत्यु भएको घटनामा पीडित परिवारबाट कुनै निवेदन परेको छैन, यद्यपि अनुसन्धान गरिरहेका छौं, तर अहिलेसम्म पोखरी मालिक हाम्रो सम्पर्कमा आएका छैनन्, खोज तलास भइरहेको छ।’

त्यस्तै गत फागुन १६ गते सर्लाहीमा खाल्डोमा जमेको पानीमा डुबेर १८ महिने शिशुको मृत्यु भएको थियो। सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ५ फुलजोरका रमेश मोक्तानकी १८ महिने छोरी अनिषा मोक्तानको घरनजिकै रहेको पानी फ्याक्ट्रीको छेउमा पानी जमेको खाल्डोको डिलमा खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो।

पछिल्लो समय धनुषामा मात्र नभई प्रदेश २ का सबै जिल्लामा पोखरी, तलाउ, खाल्डोमा जमेको पानीमा डुबेर बालबालिकासहित कयौंले ज्यान गुमाएका छन्। अवैध रुपमा भइरहेको उत्खनन्, इँटा भट्टाका कारण बनेका खाल्डा तथा नदीनालामा डुबेर सयौं जनाले ज्यान गुमाएको प्रदेश २ प्रहरी कार्यालयको तथ्यांक छ।

चालू आर्थिक वर्षको ११ महिनामा मात्र १८६ जनाको मृत्यु भएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईँले जानकारी दिए। 

प्रदेश प्रहरीका प्रवक्ता प्रसाईँले साउनदेखि जेठ महिनासम्ममा पोखरी, तलाउ, नदी, नाला, खोला र खाल्डोमा डुबेर मृत्यु भएकाहरुमा १०९ जना बालबालिका मात्र छन्।

प्रदेश प्रहरीको तथ्यांकअनुसार पोखरीमा डुबेर सबैभन्दा बढी ६६ जनाको मृत्यु भएको छ। त्यस्तै खाल्डोमा डुबेर ६४ जनाको मृत्यु भएको छ।

खोलामा डुबेर ३०, नदीमा १६ र नालामा डुबेर १० जनाको मृत्यु भएको प्रदेश प्रहरीको तथ्यांक छ।
पानीमा डुबेर सबैभन्दा बढी धनुषामा ३५ जनाको मृत्यु भएको छ। रौतहटमा ३३, बारामा ३०, सिरहामा २२, सप्तरीमा १९, महोत्तरीमा १७, सर्लाहीमा १५ र पर्सामा १५ जनाको मृत्यु भएको प्रदेश प्रहरी प्रवक्ता प्रसाईँले जानकारी दिए।

प्रकाशित: Jun 17, 2021| 14:17 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।