काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी निर्देशक चन्द्रसिंह साउदले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई आफूहरू दुवै जनाको हैसियत एउटै भएको जवाफ फर्काएका छन्। मंगलबार बोर्डले ५१ कम्पनीको सेयरमा चलखेल भएको भन्दै विज्ञप्ति सार्वजनिक गरेपछि साउदले नकारात्मक टिप्पणी गरेको भन्दै बोर्डले बोलाएको छलफलका क्रममा नेप्से प्रमुख साउदले बोर्ड अध्यक्ष ढुंगानालाई आफूहरूको हैसियत एकै भएको जवाफ दिएका हुन्।
छलफलका क्रममा अध्यक्ष भीष्म ढुंगानाले बोर्डले जारी गरेको विज्ञप्तिबारे जथाभावी नकारात्मक टिप्पणी नगर्न साउदलाई चेतावनी दिएका थिए। तर साउदले नराम्रो कुराको ढाकछोप गर्न आफूले नसक्ने र चुप बस्न पनि नसक्ने उल्लेख गरेका थिए।
‘हामी दुवैलाई मन्त्रिपरिषद्ले नियुक्त गरेको हो। तपाईंले मलाई यसो गर्नुस् र उसो गर्नुस् भन्न मिल्दैन,’ साउदले बोर्ड अध्यक्ष ढुंगानालाई जवाफ फर्काए। बोर्डका एक उच्च अधिकारीका अनुसार साउदले अध्यक्ष ढुंगानालाई आफूहरुको हैसियत एउटै भएको जवाफ फर्काएपछि ढुंगाना मौन भएका थिए।
मंगलबार बोर्डले लगानीकर्ताहरुलाई सजग भएर लगानी गर्न आग्रह गर्दै ५१ कम्पनीहरुको सेयरमूल्य अस्वाभाविक रुपमा बढेको सूची सावैजनिक गरेको थियो। कम्पनीहरुको सूची सार्वजनिक गर्दा बजारमा ती कम्पनीहरुको मूल्य घट्ने भएकोले यसरी विज्ञप्ति जारी गर्नू उचित नभएको साउदको भनाइ थियो। सेयर बजार नेप्से मातहतमा भएको तर बोर्डले नेप्सेको भूमिकामा हात हालेको नेप्से प्रमुख साउदको आरोप थियो।