काठमाडौं– कबुल गरेको कोठा भाडामा नदिएर जातिय विभेद गर्ने घरवेटीविरुद्ध प्रहरीले जाहेरी लिन अस्वीकार गरेको पीडित युवतीले बताएकी छिन्। जाहेरी दर्ता गर्न रुपा सुनार महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेकी थिइन्। आफू प्रमाणसहित जाहेरी लिएर जाँदा दर्ता गर्न अस्वीकार गरिएको उनले बताइन्।
सञ्चारकर्मीसमेत रहेकी रुपाले केही समयअघि काठमाडौंको बबरमहलस्थित एक घरमा कोठा पक्का गरेकी थिइन्।
घरबेटीले कोठा भाडामा दिने पक्का भएपछि जात सोधेकी थिइन्। ‘सुनार’ अर्थात् दलित समुदायको भएको थाहा पाएपछि घरबेटीले कोठा भाडामा दिन अस्वीकार गरेको रुपाले दाबी गरेकी छन्।
ती घरबेटीले ‘घरमा आमा हुनुहुन्छ, तिमीहरुलाई कोठा भाडामा दिन मिल्दैन’ भन्दै जातिय विभेद गरेपछि रुपाले काठमाडौं–११ बबरमहलकी सरस्वती प्रधानविरुद्ध अडियो रेकर्डसहित प्रहरी कार्यालयमा जाहेरी दर्ता गर्न पुगेकी थिइन्।
रुपाको जाहेरीसहित अडियो सुनाउँदा ‘अडियो पुष्टि गर्ने आधार’ नभएको भन्दै प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ। जाहेरी लिएर प्रहरी वृत्तमा पुग्दा डिएसपी हरिबहादुर बस्न्यात दिनभर काठमाडौं परिसरमा बैठक छ भन्दै कार्यालयमै आउन नचाहेको पीडितले बताएकी छन्।