मेलम्ची– यस वर्ष समयमै पानी परेकाले किसान खुसी थिए। मेलम्ची बजारबासी असारे झरीसँगै रमाइरहेका थिए।
सबैलाई असारको पहिलो दिन परेको पानीले खुसी तुल्याएको थियो। दिनभर खुसी रहेका मेलम्चीबासीका लागि त्यही दिनको साँझ भने त्रासदीपूर्ण बन्यो। बेलुकीको खाना पकाउने तरखर गर्दै गर्दा मेलम्ची सुसाएर आयो। कहिले त्यसरी नसुसाउने मेलम्ची र प्रहरीले बाढी आउन सक्ने भन्दै दिएको सूचनाले उनीहरू आत्तिए।
नदीतिर आँखा डुलाए। मेलम्ची भूत बनेर बगेको देखियो। सबै ज्यान जोगाउन भाग्न थाले। मेलम्चीले बिजुलीका पोल ढाल्यो। बजार अन्धकार भयो। असारे झरी दर्किरहेकै थियो। त्यही झरीमा स्थानीय ज्यान जोगाउन भागिरहेका थिए।
दोस्रो दिन उज्यालो हुँदा मेलम्ची किनारको नयाँबजार बगरमा परिणत भइसकेको थियो। नयाँ बजारबासीका मंगलबारबाट झरिरहेका आँसु अझै रोकिएका छैनन्।
बुधबार केही घटेको मेलम्चीको बहाव आज फेरि बढ्न थालेको छ। मेलम्ची फेरि उसैगरी सुसाउन थालेको छ। नदीमा पानीको बहाव बढेपछि स्थानीय बासिन्दा फेरि सुरक्षित स्थानतर्फ भाग्न थालेका छन्।
सुरक्षाकर्मीले सुरक्षित स्थलतर्फ जान आग्रह गरिरहेका छन्। मंगलबार राति आएको बाढी विस्तारै घट्दै गर्दा डुबानमा परेका आफ्ना सामान हेर्न घरतर्फ प्रवेश गरेका स्थानीय फेरि त्रसित बनेका छन्। तल्लो बजार क्षेत्रमा घर भएका स्थानीय अहिले माथिल्लो डाँडातिर भाग्न थालेका छन्।
यसैबीच चनौटे बजारमा दुई वटा शव फेला परेका छन्। मेलम्चीको बाढीमा ज्यान गुमाउनेको संख्या १० पुगिसकेको छ। १३ जना अझै बेपत्ता छन्।