मेलम्ची- राति छाडेर हिँडेको घर बिहान फर्किंदा नामो निसान थिएन। केही घर ठाडै थिए, तर बाढीले पुरेर क्षतविक्षतबनाएको अवस्थामा। मंगलबार राति आएको बाढीले मच्चाएको वितण्डाका कारण क्षणभरमा सिन्धुपाल्चोकको मेलम्चिस्थित नयाँ बजार बगरमा परिणत भयो। लाखौं खर्च गरेर बनाएको घर बालुवामा मिसियो। करिब एक सय भन्दा धेरै घर बस्नै नहुने गरी बाढीले क्षतविक्षत बनाएको छ।
बाढीले पुरिएको आफ्नो घर हेरेर टोल्हाएकी नानीमाया तामाङ भावविह्वल अवस्थामा देखिन्थिन्। उनी भन्दै थिइन् 'यस्तो होला भनेर कल्पनामा पनि सोचेको थिइनँ राति घर छाड्दा बाढीले घर छेउछाउसम्म सामान्य क्षतिपुर्याउला भन्ने लागेको थियो। अहिले त घरै बगरममा परिणत भयो।'
ऋण गरेर २० लाख लागतमा गत वर्ष मात्रै उनले घर बनाएकी रहेछिन्।
३५ वर्षीय रञ्जित श्रेष्ठले ८५ लाखमा नयाँबस्तिमा ६ महिना अघि मात्रै घर बनाएका थिए। आफ्नौ घरमा होटल चलाउँदै आएका उनी भन्छन्- 'यो घर बनाउँदामात्रै ३५ लाख ऋण लागेको छ। अब कहाँबाट ल्याएर तिरौं। करोडपति थिए अब रोडमा आएको छु।'
मेलम्चीको नयाँबस्ति त्यहि ठाउँ हो, जुन ठाउँ २०७२ वैशाखमा गएको भूकम्पले क्षतविक्षत भएको थियो। भूकम्पका कारण ध्वस्त भएको बस्ती स्थानीय मिलेर उठाएका थिए। धेरैले ऋण गरेर घर बनाएका थिए। कतिसम्म भने, यहि बस्तिमा आफ्नो भविष्य खोज्दै केहीले करोडौं लगानी गरेर व्यवसाय सुरु गरेका थिए। तर, त्यो सबै इन्द्रवतीले क्षणभरमा बगाइदिएको छ। मंगलबार दिउँसो मात्रै यहाँका स्थानीय प्रति घर ३० हजार उठाएर बाटो ढलान गरेका रहेछन्। तर, अहिले बाटोको निशानासम्म देखिँदैन।
दश करोड भन्दा धेरै लगानी गरेर सागर श्रेष्ठले यहि वस्तीमा थ्री स्टार होटल बनाएका थिए। केहि समय मात्रै भएको थियो होटल सञ्चालन भएको। होटललाई अझै भब्य बनाउँने उनको योजना थियो। तर, त्यो योजना मात्रै होइन होटल नै इन्द्रावती नदीले तहसनहस बनाइदिएको छ। होटल बस्नै नहुने अवस्थाको भएपछि ठूलो छट्पटिमा परेका उनी बुधबार बिहानै काठमाडौं पुगेका छन्। ‘अब के हेरेर बसौं म त्यहा? जहाँ प्रकृतिले नै मेरो सम्पत्ति र सपना ध्वस्त बनाइदियो,’ उनले नेपाल समयसँग भने।
३५ वर्षीय रञ्जित श्रेष्ठले ८५ लाखमा नयाँबस्तिमा ६ महिना अघि मात्रै घर बनाएका थिए। आफ्नौ घरमा होटल चलाउँदै आएका उनी भन्छन्- 'यो घर बनाउँदामात्रै ३५ लाख ऋण लागेको छ। अब कहाँबाट ल्याएर तिरौं। करोडपति थिए अब रोडमा आएको छु।'
प्रहरीले मंगलबार साँझ नै ठूलो बाढी आउँदैछ, बस्ति जोखिममा छ, घर खालि गर्नु भनेर उर्दी जारी गरेको रहेछ। प्रहरीको उर्दी सुरुमा धेरैलाई पत्यार नै लागेन। तर, जब बाढी बढ्दै गयो त्यसपछि सबैजसो स्थानीयले केहि सामान निकालेर घर छाडे। रातको साढे १२ बजे इन्द्रावती यसरी सुसायो, जुन आवाज स्थानीयले कहिल्यै सुनेकै थिएनन्। 'हामीमाथि डाँडाको घरमा सुतिरहेका थियौं। एक्कासी इन्द्रावती ठूलो र अनौठो आवाजसहित सुसायो। बत्तिगयो। केहि देखिएन। बिहान उठेर हेर्दा वस्ती बगर भैसकेको रहेछ', इन्द्रायणी मावि मेलम्चीका शिक्षक समेत रहेका स्थानीय देवी श्रेष्ठले सुनाए।
उनकाअनुसार मेलम्चीमा यति ठूलो बाढी आजसम्म आएको थिएन। यस्तो अवस्थामा आउँला भनेर स्थानीयले कल्पना समेत गरेका थिएनन्।
अकल्पनिय तरिकाले आएको बाढीले पुरै वस्ती तहसनहस बनाएको देख्दा स्थानीयको रुवाबासी चलेको थियो। कतिले त आफ्नो घर कुन हो भनेर समेत पत्ता लगाउँन सकेका थिएनन्। किनकी पुरै घर माटोले पुरिएको थियो। पानी बग्ने इन्द्रवती नदीमा यसपटक पानी भन्दाज्यादा माटोको लेदो बगेको थियो।
'बिहान हेर्दा पुरै माटोको लेदोमात्रै बगिरहेको थियो। त्यहि लेदोमाथि ग्यास, भाडाकुडा, दाउरा र अनेक सामाग्री बगाएर ल्याएको थियो', स्थानीय राजु तामाङले भने, 'मेलम्चीको नयाँ बस्तिबाट धेरैथोक बगेको छ। धन्न बेलैमाखबर पाएकोले कोही मान्छे बगेनन्।' उनकाअनुसार हेर्दा मेलम्चीको नयाँबजार एक घण्टाको बीचमा बगरमा परिरण भएको थियो।
तर, प्रहरीको प्रारम्भिक अनुमान अनुसार सिन्धुपाल्चोकमा १० अर्बभन्दा बढीको क्षतिभएको छ। मेलम्ची नगरपालिकामा मात्रै ६ सय परिवार प्रभावित भएका छन्।
नयाँ बजारमा कति घर बगे? र, कति क्षतिभयो भनेर प्रहरीले अझै क्षतिको विवरण संकल नगर्न सकेको छैन। किनकी बाढीको क्रम अझै रोकिएको छैन। माटोको बाक्लो लेदो अझै बगिरहेकै छ। खोला दिउँसो कम भए पनि साँझ फेरि बढेको छ। 'पहिला राहत दिने र नागरिकलाई सतर्क बनाउँने काममा हामी केन्द्रीत भएका छौं', जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश सापकोटाले भने। उनकाअनुसार बाढी कम भएपछि क्षतिको पूर्ण विवरण संकलन गरिने छ। तर, प्रहरीको प्रारम्भिक अनुमान अनुसार सिन्धुपाल्चोकमा १० अर्बभन्दा बढीको क्षतिभएको छ। मेलम्ची नगरपालिकामा मात्रै ६ सय परिवार प्रभावित भएका छन्।
बस्ती सखाप पार्नेगरी मेलम्चीमा बाढी उर्लिनु पछाडीको कारण पहिरो भएको स्थानीय प्रशासनको ठहर छ। बुधबार हेलिकोप्टरमार्फत गरिएको निरीक्षणका क्रममा पाँचपोखरी थाङपालगाउँपालिका वडानम्बर ३ भोताङस्थित लार्के भन्ने ठाउँमा ठूलो पहिरो गएको पाइएको छ। पहिरोले मेलम्ची नदी थुन्दा ठूलो दह बनेको थियो। उक्तदह फुट्दा मेलम्ची बजार तहसनहस भएको साहयक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए। भने, 'थुनिएको खोला उर्लंदा बस्ती तहसनहस भयो।'
