काठमाडौं- ट्यांकर चालकहरूले कोभिड–१९ विरुद्धको खोप उपलब्ध नभएसम्म पेट्रोलियम पदार्थ ढुवानी नगर्ने घोषणा गरेका छन्। नेपाल पेट्रोलियम ट्यांकर चालक संघले आइतबार एक विज्ञप्ति जारी गर्दै खोप उपलब्ध नभएसम्म पेट्रोलियम पदार्थ ढुवानी नगर्ने घोषणा गरेको हो।
ढुवानी चालक तथा सहचालक कोरोना संक्रमित भएर कतिपयको ज्यान समेत गइसकेकाले अत्यावश्यक वस्तु ढुवानीका लागि आवश्यक खोपको व्यवस्था गरिदिन नेपाल आयल निगमसमक्ष माग गरेको छ।
‘अत्यावश्यक सामग्री ढुवानी गर्ने चालक तथा सहचालकलाई सुरक्षित स्वास्थ सामग्री र पहिलो प्राथमिकतामा संक्रमणविरुद्ध खोप अतिआवश्यक छ,’ संघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘यस विषयमा संघले बारम्बार ध्यानाकर्षण गराउँदै आएको भए तापनि कुनै पनि कदम चालेको नदेखिएकाले सो विषयमा स्वास्थ सुरक्षा र खोपको विशेष व्यवस्थाको पहल नगरेसम्म अतिजोखिममा चालक, सहचालकहरू सेवा उपलब्ध गराउन असमर्थ रहेको व्यहोरा जानकारी गराइन्छ।’
यथाशीघ्र खोपको व्यवस्था गरी कार्यसञ्चालन गराउन विज्ञप्तिमार्फत् अनुरोध गरिएको छ।
