पर्सा- निषेध आदेश हुन्थेन भने वीरगञ्ज महानगरपालिका–२ की जमुनीयादेवी थवई अहिले सिलौटो र लोहोरो बेचिरहेकी हुन्थिन्। निषेध आदेश जारी भएपछि भने उनले बनाएका सामग्री बिक्री भएका छैनन्।
आम्दानी गर्ने बाटो नै बन्द भएपछि अहिले उनको परिवार समस्यामा छन्। आठ जनाको परिवार यही सिलौटो र लोहोरो बिक्रीबाट हुने आम्दानीमा आश्रित थियो।
अहिले उनलाई दैनिकी कसरी चलाउने भन्ने चिन्ता छ। ‘छोराछोरीको लालनपालन गर्नै पर्यो,’ उनले भनिन्, ‘आम्दानीको बाटो यही सिलौटो खोप्नेबाहेक केही छैन।’
वस्तीमा उनको जस्तै पाँच परिवार छ, जहाँ ४८ जना बसोबास गर्छन्। सबैको पेसा त्यही हो।
निषेध आदेश जारी भएपछि बनाएर राखेका सामान थन्किएको बिनोद थवई बताउँछन्। ‘कोरोना लाग्छ भनेर कसैले पुरानो सिलौटो पनि खोपाउँदैनन्,’ उनले भने, ‘नयाँ बिक्री हुने त कुरै भएन, पेट पाल्नै समस्या भयो।’
अहिले विभिन्न परोपकारी संस्थाहरूले निषेध आदेशले समस्यामा परेकाहरूलाई बिहान–बेलुका खाना वितरण गर्दै आएका छन्। तर, उनीहरूको वस्तीमा भने यस्तो सहयोग पुगेको छैन।
महानगरभित्रै उनीहरू भोकै रात कटाउन बाध्य छन्। ‘हामी त भोकै बस्न सक्छौं तर, बच्चाहरू मान्दैनन्,’ जमुनियादेवीले भनिन्।