आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सामाजिक सुरक्षा भत्ता सहकारीमार्फत् दिनुपर्छ : अर्थमन्त्री शर्मा

सामाजिक सुरक्षा भत्ता सहकारीमार्फत् दिनुपर्छ : अर्थमन्त्री शर्मा

जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएकाहरूलगायतले पाउने सामाजिक सुरक्षा भत्ता बैंकबाट वितरण गर्ने व्यवस्था गरिए पनि उक्त व्यवस्था सहज नभएको उनको भनाइ छ। मन्त्री शर्माले सहकारी र लघुवित्त संस्थाहरूले सुलभ र सस्तो ब्याजदरमा ऋण लगानी गर्नुपर्ने समेत बताए।
 |  मंगलबार, साउन १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १९, २०७८

काठमाडौं‐ अर्थमन्त्री जनार्दन शर्माले सामाजिक सुरक्षा भत्ता सहकारीमार्फत् दिनुपर्ने बताएका छन्। राष्ट्रिय सहकारी बैंकको १९औँ स्थापना दिवसका अवसरमा आयोजित ‘सहकारीमा लघुवित्त’ सम्मेलनमा बोल्दै उनले लाभग्राहीको सहजताका लागि सहकारीमार्फत् दिनुपर्ने बताएका हुन्। 

जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएकाहरूलगायतले पाउने सामाजिक सुरक्षा भत्ता बैंकबाट वितरण गर्ने व्यवस्था गरिए पनि उक्त व्यवस्था सहज नभएको  उनको भनाइ छ। मन्त्री शर्माले सहकारी र लघुवित्त संस्थाहरूले सुलभ र सस्तो ब्याजदरमा ऋण लगानी गर्नुपर्ने समेत बताए। 

सरकारले कृषिका साथै महिला उद्यमी, वैदेशिक रोजगारबाट फर्केका युवालाई ब्याज अनुदान दिएर सहूलियत ब्याजदरमा कर्जा दिने व्यवस्था गरेको छ। तर, वाणिज्य बैंकहरुले मात्र यो कर्जा लगानी गर्न पाउने व्यवस्थाका कारण वास्तविक ऋणीको पहुँचमा पुग्न नसकेको गुनासो सर्वसाधारणको छ। 

नेपाल राष्ट्र बैंकले भने सहुलियतपूर्ण कर्जाको पहुँच विस्तार गर्न प्रतिशाखा १० जनालाई सहूलियत कर्जा लगानी गर्नैपर्ने बाध्यकारी व्यवस्था गरेको छ। 

सहकारी संघसंस्थालाई नाफामा प्रतिस्पर्धा नगरी रोजगारी वृद्धि, गरिबी न्यूनीकरण र उत्पादनमुखी अर्थव्यवस्था बनाउने काममा प्रतिस्पर्धा गर्न सुझाव दिए। 

बैंकहरुले गाडी किन्न दिने कर्जा सस्तो र गरिबलाई कृषिका लागि दिने कर्जा महँगो भएको भन्दै सरकारी नीतिको आलोचना हुँदै आएको छ। उक्त विषयलाई मन्त्री शर्माले समेत उल्लेख गरे। 

'धनीले घरगाडी किन्नका लागि लिने कर्जाको ब्याजदर सस्तो। तर गरिबले खेती गर्न लिने ब्याजदर महँगो किन?,' मन्त्री शर्माको प्रश्न थियो। उनले बैंकको ब्याजदरमा देखिएको असमानता सच्याउनुपर्ने बेला आएको बताए। 

कार्यक्रममा सहकारी विभागका रजिष्टार लिलानाथ शर्माले मुलुकको गरिबी निवारणमा सहकारी क्षेत्रको राम्रो संभावना रहेको बताए। एसिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको विकासका लागि संजाल (नेडाक) का अध्यक्ष सन्दीप नायकले नेपालको सहकारी अभियानलाई वित्तीय तथा प्रविधिका क्षेत्रमा सक्षम बनाउन राष्ट्रिय सहकारी बैंकसँग समन्वय गरेर काम गरिरहेको जानकारी दिए। 

लघुवित्त विज्ञ शंकरमान श्रेष्ठले सहकारीमार्फत् लघुवित्त मोडल प्रभावकारी हुने बताए। सहकारीमा स्वामित्व सदस्यहरुकै हुने र समुदायमा आधारित हुने भएकाले यसमार्फत् लक्षित वर्गमा सेवा पुर्‍याउन सकिने उनको भनाइ थियो।

प्रकाशित: Aug 03, 2021| 20:42 मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्