सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • व्यवसायी राजकर्णिकारको आक्रोश– आउनुस् नेताज्यू, बिनालगानी अर्बौं कमाऊँ

व्यवसायी राजकर्णिकारको आक्रोश– आउनुस् नेताज्यू, बिनालगानी अर्बौं कमाऊँ

व्यवसायी भाष्करराज राजकर्णिकारले उद्योगी–व्यापारीले पनि राजनीति गरेर बस्ने हो? भनेर प्रश्न गरेका छन्।
 |  बिहीबार, जेठ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ६, २०७८

काठमाडौं– व्यवसायी भाष्करराज राजकर्णिकारले उद्योगी–व्यापारीले पनि राजनीति गरेर बस्ने हो? भनेर प्रश्न गरेका छन्। उनले फेसबुकमा लामो स्ट्याटस लेख्दै भनेका छन्, ‘नेताज्यू! आउनुस्, बिना लगानी अरबौं कमाऔं।’ 

उनले निजी क्षेत्रले सधैं जनताको दुःखमा साथ दिएको र इमान्दार भएर काम गरेको दावी गर्दै लेखेका छन्, ‘मलाई जहिले पनि लाग्थ्यो, नेपाली निजी क्षेत्रले जस्तोसुकै जटिल परिस्थितिमा पनि आफ्नो व्यापार व्यवसायलाई उभ्याएको छ। त्यसमाथि पनि जसरी महाभूकम्प, आगलागी, बाढी–पहिरोलगायत प्राकृतिक विपत्ति, आर्थिक नाकाबन्दी, आर्थिक शिथिलता देशले व्यहोर्याे। अहिले कोरोनाको लगातार दोश्रो वर्षसम्मको मारको जोखिम र जटिलताबीच पनि निजी क्षेत्रको सहयोगको सक्रियताले प्रमाणित गरेको छ।’ 

नेपालको निजी क्षेत्रभन्दा उर्जाशील निजी क्षेत्र अन्य देशमा बिरलै भेटिने दाबी उनले गरेका छन्। ‘अहिले कोरोनाको यो महामारीमा पनि नेपाली उद्यमी व्यवसायीहरुले आफ्नो पहलमा जसरी योगदान गरिरहेको छ, यसको केही प्रतिशतमात्र इमान्दारिता सरकारी पक्ष, राष्ट्रिय योजना आयोग, राजनीतिक दलहरू, निजामती कर्मचारी र जिम्मेवारी बोकेकाहरुले गरिदिएको भए आज कोरोनाको स्थिति यस्तो भयावह पक्कै हुँदैनथ्यो।’

उनले राजनीतिप्रति घृणा व्यक्त गर्दै जनताको नाममा जनतालाई नै सिध्याउन उद्दत विभिन्न तहका शासनकर्ता भन्दा आफ्नै श्रीसम्पति लगाएर जनताको सेवामा लाग्ने निजी क्षेत्र ठूलो रहेको बताएका छन्। हरेक भ्रष्टाचारमा नेताहरुको हात रहेको संकेत गर्दै उनले देश जोखिममा रहेको घडीमा पनि  फेरि कमिसनखोरी, नाफाखोरीको दोष व्यापारी र व्यावसायीमाथि मात्रै लाग्नु देशकै बिडम्बना हुने  बताएका छन्।

उनले राजनीतिमा लगानी नगरी, उत्पादन नगरी, कर नतिरी करोडौं वा अरबौं रुपैयाँ लिन सकिने पनि दाबी गरेका छन्। राजकर्णिकारले जनता महामारीसँग जुधिरहेको अवस्थामा पनि सरकार कमिसनमा लिप्त भएको र जनता तथा निजी क्षेत्रको समस्या नबुझेकोमा रोष प्रकट गरेका छन्। 

राजकर्णिकार नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष हुन्। 
 

प्रकाशित: May 20, 2021| 08:28 बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्