काठमाडौं– चालू आर्थिक वर्ष २०७७/०७८ मा प्रदेशहरूको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषिको योगदान उच्च रहेको छ। केन्द्रीय तथ्यांक विभागको आँकडाअनुसार बागमतीबाहेक सबै प्रदेशको कुल गार्हस्थ उत्पादनमा कृषिको योगदान उच्च देखिएको हो।
प्रदेश १ को चालू आर्थिक वर्षको कुल गार्हस्थ उत्पादन ६ खर्ब ६४ अर्ब रहेकोमा कृषि योगदान ३५.२ प्रतिशत रहेको विभागले जनाएको छ। विभागले कृषि, वन तथा मत्स्य पालनलाई कृषि क्षेत्र भनेर परिभाषित गरेको छ। प्रदेश २ को जीडीपी ५ खर्ब ६२ अर्ब रहेकोमा कृषि क्षेत्रको योगदान ३८.३ प्रतिशत छ।
बागमतीमा १६ अर्ब ८ अर्बको जीडीपीमा थोक तथा खुद्रा व्यापारको सबैभन्दा बढी योगदान छ। उक्त क्षेत्रको योगदान २४.६ प्रतिशत र खानेपानी क्षेत्रको ०.३ प्रतिशत छ। बागमती प्रदेशमा सहरीकरणका हिसावले अन्य प्रदेश जस्तै कृषिको योगदान न्यून रहेको विभागको तथ्यांक छ।
गण्डकीमा जीडीपी ३ खर्ब ७२ अर्ब, लुम्बिनीमा जीडीपी ५ खर्ब ९६ अर्ब, कर्णालीमा १ खर्ब ७२ अर्ब र सुदूरपश्चिममा २ खर्ब ९४ अर्ब जीडीपी छ। ती प्रदेशको जीडीपीमा कृषि क्षेत्रको योगदान क्रमशः २८.२ प्रतिशत, ३१.९ प्रतिशत, ३३ प्रतिशत र ३५.५ प्रतिशत रहेको विभागले जनाएको छ।