काठमाडौं- तातोपानी नाकाबाट पहिलोपटक २ हजार ५०० अक्सिजन सिलिण्डर नेपाल भित्रिएको छ। ती सिलिण्डर निजी आयातकर्ता हिमा ट्रेड लिंक प्रालिले चीनबाट तातोपानी नाका हुँदै सोमबार नेपाल भित्र्याएको हो।
चीनबाट ल्याइएका सिलिन्डरमा १० लिटर अक्सिजन ग्यास अट्छ। चीनबाट सोमबार नेपाल भित्रिएका ८ वटा कन्टेनरमध्ये दुईवटामा अक्सिजन सिलिण्डर रहेको तातोपानी भन्सार कार्यालयले जानकारी दिएको छ।
तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत नारद गौतमका अनुसार स्वास्थ्य सामाग्री चेक जाँचका लागि क्युमा पनि नराखिने र राजश्व पनि नलाग्ने भएकोले छिटै नै भन्सार प्रकृया पूरा गरेर काठमाडौ आउने छ।
हिमा ट्रेड लिंकले कुल ७ हजार ५०० वटा सिलिण्डर खरिद गरिएकोमा २ हजार ५०० सिलिन्डर नेपाल आएको छ। बाँकी ५ हजार सिलिण्डर खासामा आइपुगेको पनि सिल्क ट्रान्सपोर्टले जनाएको छ।