काठमाडौं- तिब्बत क्षेत्रमा आज बिहान ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसको केही समयपछि हिमपहिरो गएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको थियो। तर भूकम्पविद् लोकविजय अधिकारीले भने ४.५ म्याग्निच्युडको उक्त भूकम्प पछि रसुवामा भिषण बाढी आएको बताएका छन्।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा अधिकारीले बिहान ८ बजेर २० मिनेटमा तिब्बत क्षेत्रमा २.६ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिए। उक्त भूकम्प बाढी आउनुअघि गएको भए पनि यसको म्याग्निच्युड निकै कम भएकाले बाढी जानमा प्रभाव पारेको हुनसक्ने सम्भावना न्यून रहेको उनले बताए।
उनका अनुसार बिहान ८ बजेर ३७ मिनेटमा तिब्बतमा ४.५ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो। उक्त भूकम्प भने हिमपहिरोपछि गएको देखिएको उनले स्पष्ट पारे। यसअघि ४.५ म्याग्निच्युडको भूकम्पपछि हिमपहिरो गएको हुनसक्ने अनुमान गरिएको थियो।
३ म्याग्निच्युडभन्दा कमको भूकम्प सामान्यतया मानिसले समेत महसुस नगर्ने भएकाले २.६ म्याग्निच्युडको भूकम्पले हिमपहिरो निम्त्याउने सम्भावना कम हुने उनले बताए। ‘त्यो त नहुनुपर्ने हो त्यति सानोले। त्यति सानोको खासै फिल हुँदैन। त्यो ३ भन्दा तलकै भनेपछि फिल नै नहुने भूकम्प हो,’ अधिकारीले भने।