बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मास्कमा कालाेबजारी : साढे दुई रुपैयाँमा बन्ने मास्कलाई किन १० रुपैयाँ?

मास्कमा कालाेबजारी : साढे दुई रुपैयाँमा बन्ने मास्कलाई किन १० रुपैयाँ?

विद्यमान कानुनअनुसार विक्रेताले आफूले किनेको मूल्यभन्दा २० प्रतिशत बढीमात्रै नाफा लिन पाउँछन्। त्योभन्दा बढीमा बेचे कालोबजारी ऐन आकर्षित हुन्छ। 
 |  सोमबार, जेठ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३, २०७८

काठमाडाै‌- सामान्यतयाः दिन बिराएर मास्क फेर्ने काठमाडौं कुलेश्वरका सनम लामा एउटा सर्जिकल मास्कलाई १० रुपैयाँ तिर्छन्। मास्कमा मात्रै उनको मासिक सरदर साढे दुई सय रुपैयाँ खर्च हुन्छ।

ललितपुर पुलचोकका रविन मानन्धरको परिवारका लागि मासिक करिब १ हजार रुपैयाँको मास्क चाहिन्छ। उनी पनि १० रुपैयाँ नै तिरेर मास्क किन्छन्– एउटा किन्दा होस् वा ५ वटा। 

नियमित रुपमा उपभोक्ताले किन्ने वस्तु हो मास्क। कोरोना महामारीका कारण मास्क अहिले अत्यावश्यक वस्तु भइसकेको छ याे। दैनिक कति मास्क खपत हुन्छ भन्ने यकिन तथ्या‌‌क त कुनै निकायसँग छैन तर जनसंख्याकै हिसाब गर्ने हो भने पनि काठमाडौं उपत्यकामा मात्रै दैनिक लाखौं मास्क खपत हुन्छ।

पान पसलदेखि फार्मेसीसम्म बिक्री हुने मास्कको मूल्य अधिकांशले १० रुपैयाँ लिने गरेका छन्। उपभोक्तालाई पनि लाग्ला– १० रुपैयाँ भनेको कति नै हो र। ठिकै पनि हो। तर, तपाईं–हामीले याद नगरेको कुराचाहिँ के हो भने हामीले १० रुपैयाँ तिरेर किन्ने एउटा मास्क साढे २ देखि ३ रुपैयाँमा उत्पादन हुन्छ। अर्थात् मास्क बेच्ने खुद्रा विक्रेताले ४ गुणा (४०० प्रतिशत) नाफा खाइरहेका छन्।

बारास्थित मास्क उत्पादक कम्पनी प्रोजियो केम इन्डस्ट्रीका सञ्चालक दिनेश गौतमका अनुसार उनको उद्योगमा एउटा मास्क ३ रुपैयाँमा तयार हुन्छ। यो कम्पनीले दैनिक करिब ४० हजार मास्क उत्पादन गरेर बजार पठाउने गरेको छ। ‘हामी बढीमा ३ रुपैयाँमा उत्पादन गर्छौं र बजारमा साढे ३ रुपैयाँमा पठाउने गरेका छौं,’ गौतमले भने। 

थोक विक्रेता (होलसेलर) ले साढे ३ रुपैयाँमा किनेको मास्क खुद्रा व्यापारीको हातसम्म पुग्दा साढे ४ रुपैयाँ पर्छ। र, खुद्रा व्यापारीले त्यसलाई १० रुपैयाँमा उपभोक्तालाई बेच्छन्। यो भनेको उनीहरुले किनेको मूल्यभन्दा कम्तीमा दुई गुणा बढी हो।

विद्यमान कानुनअनुसार विक्रेताले आफूले किनेको मूल्यभन्दा २० प्रतिशत बढीमात्रै नाफा लिन पाउँछन्। त्योभन्दा बढीमा बेचे कालोबजारी ऐन आकर्षित हुन्छ। तर, अहिलेसम्म कुनै पनि मास्क विक्रेता कारबाहीमा परेको सार्वजनिक जानकारीमा छैन।

काठमाडौं सर्जिकलमा मास्क उत्पादन गरिँदै। तस्बिर : कम्पनीको फेसबुक पेज

देशमा उत्पादन हुनेमात्रै होइन, विदेशबाट आउने मास्क पनि ३ रुपैयाँभन्दा धेरै पर्दैन। नेपालमा धेरैजसो मास्क चीनबाट आउँछ। चीनबाट मास्क ल्याएर बेच्दै आएका श्रवण अग्रवालका अनुसार चीनबाट ल्याउने उनीहरुले साढे ३ रुपैयाँमा होलसेलरलाई बेच्ने गरेका छन्। ‘कसलाई कति पिस चाहियो, म साढे ३ रुपैयाँका दरले हजारौं पिस उपलब्ध गराउन सक्छु,’ श्रवण जंगिए।

उनले खुद्रा व्यापारी आए पनि साढे ३ रुपैयाँमै दिने गरेका छन्। भन्छन्, ‘हामी यति सस्तोमा दिन्छौं तर सर्वसाधारण १० रुपैयाँ तिर्न बाध्य छन्। यो त महामारीमा लुट नै भयो नि।’ सर्वसाधारणसँग एउटा मास्कको ६ रुपैयाँभन्दा धेरै लिनु भनेको लुट नै भएको उनको तर्क छ। मास्क उत्पादक गौतम पनि अधिकतम ६ रुपैयाँभन्दा धेरै लिन नमिल्ने बताउँछन्। ‘साढे २ देखि ३ रुपैयाँमा उत्पादन हुने मास्कको १० रुपैयाँ लिनु भनेको अपराध हो।

स्थानीय सरकार, प्रशासन र वाणिज्य विभागले नियमन गर्नुपर्छ,’ उनी भन्छन्। उपभोक्ता मास्कको जुन मूल्य तिर्न बाध्य छन्, त्यसलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि कालोबजारी भन्ने गरेको छ। विभागको टोलीले वैशाख १९ गते काठमाडौंको त्रिपुरेश्वरस्थित अल फाइन सर्जिकल सप्लायर्सले प्रतिगोटा साढे चार रुपैयाँमा खरिद गरेको सर्जिकल मास्क साढे आठ रुपैयाँमा बेचेको पाएपछि दुई लाख रुपैयाँ जरिवाना तिराएको थियो। 

वैशाख २४ गते कैलालीको अत्तरियास्थित दीप सुवेदी मेडिकल र हेल्थ केयरलाई होलसेलमा ३ रुपैयाँमा पाइने सर्जिकल मास्क १० रुपैयाँमा बिक्री गरेको भेटेपछि विभागको टोलीले २०–२० हजार जरिवाना तिर्न लगाएको थियो।

तस्बिर : दिनेश श्रेष्ठ

विभागका प्रवक्ता शिवराज सेढाईं आफूहरु अनुगमनमा सक्रिय भए पनि त्यसलाई रोक्न नसकेको स्वीकार गर्छन्। ‘उत्पादनका हिसाबले मास्कको अधिमतम मूल्य ६ देखि ७ रुपैयाँ हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। तर, खुलमखुला १० रुपैयाँमा बिक्री भइरहेको छ। यसलाई हामीले मात्रै चाहेर नियमन गर्न सकिएको छैन,’ उनले भने। विभागसँग सीमित स्रोतसाधन भएकाले यसमा विशेष गरी स्थानीय सरकार र प्रशासनले ध्यान दिनुपर्नेमा उनको जोड छ। ‘स्थानीय सरकारले यसतर्फ ध्यान नै दिएको छैन। प्रशासनले पनि खासै मतलब गरेको छैन। अनि हामीले मात्रै कसरी सकिन्छ नियमन गर्न?’ सेढाईं भन्छन्।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले पनि आफूहरुले मास्कमा भइरहेको कालोबजारीका विषयमा ध्यान दिन नसकेको स्वीकार गरे। उनले भने, ‘हामीले अभाव भएका अन्य स्वास्थ्य सामग्रीका विषयमा अनुगमन गर्ने गरेका छौं। तर, मास्कका विषयमा खासै ध्यान दिन पाएका छैनौं।’ मास्कको उत्पादन मूल्य कति हो र कतिमा बिक्री भइरहेको छ भन्ने विषयमा विश्लेषण गरेर अनुगमन सुरु गर्ने उनले बताए। यस विषयमा गुनासो नआएकाले पनि अनुगमन नभएको उनको भनाइ छ। 

काठमाडौं महानगरपालिकाले पनि स्वास्थ्य सामग्रीमा भएको कालोबजारीका विषयमा कुनै अनुगमन गरेको छैन। अनुगमनका लागि बाहिर ननिस्किएको स्वीकार गर्दै महानगरको अनुगमन टोली प्रमुख हरि भण्डारीले भने, ‘अनुगमनका विषयमा मेयर साबले कुनै चासो नदेखाएका कारण बाहिर निस्किन सकिएको छैन। तत्काल कुनै योजना पनि छैन।’ मास्कको मूल्यका विषयमा पनि महानगरले कुनै चासो देखाएको छैन। ‘पोहोर गरिएको थियो, यसपालि छैन। माथिल्लो तहले नै चासो नराखेपछि के गर्नु?’ अनुगमन टोली प्रमुख भण्डारीले भने।

प्रकाशित: May 17, 2021| 07:55 सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।