काठमाडौं - काठमाडौंका विभिन्न निजी तथा सरकारी अस्पतालमा कोभिडको ओपीडी सेवा सञ्चालन गरिएको छ।
कोभिड-१९ पोजिटिभ भएका संक्रमितको अवस्था बुझ्न र आवश्यक उपचार व्यवस्था मिलाउनका लािग काठमाडौंका १३ वटा र काभ्रेको एक अस्पतालमा कोभिडको ओपीडी सेवा सुरु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीर अस्पताल र ट्रमा सेन्टर, टेकु अस्पताल, त्रिवि शिक्षण अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीरेन्द्र अस्पताल छाउनीमा यी सेवा उपलब्ध छ।
यस्तै पाटन अस्पताल, भक्तपुर अस्पताल, नेपाल प्रहरी अस्पताल, मनमोहन अस्पताल सीतापाइला, नेपाल मेडिकल कलेज जोरपाटी, काठमाडौँ मेडिकल कलेज सिनामंगल, किष्ट अस्पताल ग्वार्को र धुलिखेल अस्पताल काभ्रेमा यो सेवा सुरु भएको जनाएको छ। यी अस्पतालहरूले वरपरका अरू साना र सहायक अस्पतालहरूलाई थप सहयोग चाहिएको खण्डमा समेत समन्वय र सहयोग गर्ने बताइएको छ।
मन्त्रालयका अनुसार ओपीडीमा कोरोना संक्रमितले आफ्नो स्वास्थ्यको जाँच गर्नेछन्। जाँचमा सामान्य अवस्था भए होम आइसोलेसनमा पठाउने, अक्सिजनको आवश्यकता तथा गम्भीर अवस्था देखिए अस्पतालमा नै भर्ना गर्ने व्यवस्था हुने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतामले जानकारी दिए।
ओपीडीमा संक्रमितलाई आवश्यक परामर्श दिइने छ।