काठमाडाैं - काठमाडौंको चन्द्रागिरिमा ६० शय्याको अक्सिजनसहितको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको छ।
काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिमा नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमण बढेपछि ६० शय्याको अक्सिजनसहित आइसोलेसन केन्द्र सञ्चालनमा आएको हो।
नगर प्रमुख घनश्याम गिरीले नगरपालिकाभित्र दिनानुदिन कोरोना संक्रमित बढेपछि चिकित्सक, नर्स र स्वास्थ्यकर्मीसहितको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिए।
‘नगरपालिकाको वडा नं ८ स्थित मातातीर्थमा रहेको नवनिर्मित सामुदायिक अस्पताल भवनमा ३० शय्या र वडा नं ३ स्थित रहेको थानकोट प्राथमिक अस्पतालमा ३० शय्याको अक्सिजनसहितको आइसोलेसन केन्द्र निर्माण गरेका छौं’, उनले भने। दुवै आइसोलेसन केन्द्रमा चौबीसै घण्टा सेवा प्रदान गरिने नगर प्रमुख गिरीको भनाइ छ।
यस्तै चन्द्रागिरिभित्रका बिरामीको उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र उपत्यकाका अन्य अस्पतालसँग समन्वय गरिने नगरप्रमुख गिरीले बताए।
नगरपालिकाले चाँडै नै वडा नं १२ मा १५ शय्याको आइसोलेसन केन्द्र स्थापना गर्ने जनाएको छ। यहाँ हाल ९८६ सक्रिय संक्रमित छन्। हालसम्म चन्द्रागिरिमा कोरोनाका कारण ३५ जनाले ज्यान गुमाएका छन्। रासस